जाजरकोटमा ६ सय ८२ म्यादी प्रहरीको विदाई

जाजरकोट । स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी बिदाइ भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटले शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी ६ सय ८२ म्यादी प्रहरीको सामूहिक बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख ९डिएसपी० सन्तोष निरौलाले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा म्यादी प्रहरीको सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताए ।

राज्यले आफूले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकामा म्यादी प्रहरीलाई धन्यवाद दिँदै उनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका बेलामा पनि भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गरे । साथै उनले सुरक्षा निकायले म्यादी प्रहरीको अनुभवलाई उपयोग गर्ने समेत विश्वास दिलाए ।

म्यादी प्रहरी बिदाइ कार्यक्रममा प्रशिक्षक र म्यादी प्रहरीलाई प्रसंशापत्र समेत प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया