सुर्खेतको सिम्ता गाउँपालिकामा भोलि पुनः मतदान हुने

सुर्खेत l सिम्ता गाउँपालिका–१ भगवती मावि खनेटा केन्द्रमा सोमबार पुनः मतदान हुने भएको छ।

आधिकारिक हस्ताक्षर नभएको मतपत्र भेटिएको विषयमा तनाव हुँदा शुक्रबार स्थगित मतदान सोमबार सात बजेदेखि ५ बजेसम्म हुने भएको हो।

निर्वाचन अधिकृत नारायण सापकोटाले मुख्य निर्वाचन अधिकृत र प्रदेश निर्वाचन कार्यालयबाट मतदान अधिकृतसहितको कर्मचारी, मतपत्रलगायतका आवश्यक सामग्री आज मतदान केन्द्रमा आइपुग्ने जानकारी दिए। पुनः मतदान हुने भएपछि यसअघि नियुक्त मतदान अधिकृत र अन्य निर्वाचन कर्मचारी पनि हटाइएका थिए।

त्यस्तै, जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले थप सुरक्षाकर्मी पनि पठाउने तयारी गरेको छ । पूर्वी सुर्खेतमा पर्ने उक्त मतदान केन्द्रमा ८३९ मतदाता छन्। यहाँ मतदान स्थगित हुँदा सिम्ता गाउँपालिकामा मतगणना कार्य पनि सुरु भएको छैन।


तपाईको प्रतिक्रिया