सुर्खेतमा साँझ ८ बजेपछि मदिरा विक्री वितरण र सेवनमा रोक

सुर्खेत । निर्वाचन मिति नजिकीदै गर्दा जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुरक्षा रणनीति सार्वजनिक गरेको छ । निर्वाचनको अवधिमा हुन सक्ने सम्भावित घटनाहरु रोक्न प्रशासनले मदिरा विक्री वितरणमा रोकदेखी मतदानस्थलमा खटिने कर्मचारीलाई हतोत्साहित गर्ने गतिविधि गरे कारवाही गर्ने सुरक्षा योजनामा समावेश गरेको हो ।

निर्वाचन अवधिभर लागु हुनेगरी प्रशासनले आज साँझ ८ बजेपछि मदिरा विक्री वितरण र सेवनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रवक्ता एवम् सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।

जिल्लामा क्रियाशील राजनीतिक दल, सार्वजनिक पदाधिकारीहरु, सरकारी कर्मचारी तथा सर्वसाधारण व्यक्तिहरुसमेतले पालना गर्नुपर्ने गरी निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनले आग्रह गरेको छ । प्रशासनले श्रव्य–दृश्य सञ्चार माध्यमबाट सामाजिक सञ्जालमार्फत् राजनीतिक दल, उम्मेदवार, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीलाई लक्षित गरी गालीगलौज गर्ने, अफवाह फैलाउने, भ्रामक सूचना र निर्वाचन विरोधी सन्देश प्रवाह गर्ने जस्ता अवाञ्छित गतिविधिहरु नगर्न पनि पाण्डेले आग्रह गरेका छन् । उनले सूचना विपरित गतिविधिमा संलग्न भएमा कानून अनुसार कडा कारवाही गरिने जनाए ।

तपाईको प्रतिक्रिया