सुर्खेत।अभिनेता पूर्णविक्रम शाही भनिने पल शाहमाथि जबर्जस्ती करणीको आरोप लगाउने नाबालिकाका बाबुले पनि बयान फेरेका छन्।
जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जाँदा त्यो कुरा यथार्थ नभएको भनी बयान दिएका हुन्।
जाहेरी दिने नाबालिकका बाबुको बकपत्रअनुसार जाहेरीमा उल्लेख गरिएका विवरण सबै झुटो भएको र बुझ्दै जाँदा त्यस्तो घटना नभएको दाबी गरिएको अदालत स्रोतले जनाएको छ। दुई दिनअघि पीडित भनिएकी बालिकाले पनि बकपत्रका क्रममा आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्।
बालिकाका बाबुको जाहेरीका आधारमा नै प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा लिएर जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान अघि बढाएको थियो । उक्त मुद्दामा अदालतको आदेशमा शाह हाल पुर्पक्षका लागि थुनामा छन् ।
पछिल्लो समय पीडित बालिका र जाहेरवाला उनका बाबुको बयान फेरिएसँगै मुद्दा होस्टाइल भएको अनुमान गरिएको छ।


दर्शन खबर । ६ बैशाख २०७९, मंगलवार