उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा कँडेल निर्वाचित

वीरेन्द्रनगर । सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल विजयी भएका छन् । नेपाली काँग्रेसको कोइराला समूहका उनले ४८ मतान्तरले देउवा पक्ष अर्थात पूर्णबहादुर खड्का पक्षका हर्षविक्रम खड्कालाई पराजित गरेका हुन् । कँडेलले ९११ मत ल्याएर विजयी हुँदा खड्काले ८६३ मत प्राप्त गरे ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेतले ९४१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सूर्यबहादुर रावतले ७३७ मत ल्याएर पराजित भएका छन् । वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकालले ७८४ मत ल्याएर पराजित हुँदा प्रेमबहादुर रावलले ९२० मत ल्याएर विजयी भए ।
उद्योग उपाध्यक्षमा सिंहराज वमले ८६७ मत ल्याएर विजयी भएका छन् भने प्रेम पाण्डेले ८५७ मत ल्याएर पराजित भएका छन् । महिला उपाध्यक्षमा तारा रावतले ८८२, महासचिवमा भद्र भण्डारीले ८७२, उपमहासचिवमा कृष्णप्रसाद सुवेदीले ८७५, कोषाध्यक्षमा रामप्रसाद पाण्डेले ९३८ र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्रीले ८६५ मत ल्याएर विजयी भएका छन् ।

महिला उपाध्यक्षका उम्मेदवार कृष्णाकुमारी थापाले ८२१, महासचिवका उम्मेदवार रामप्रसाद जैसीले ८६५, उपमहासचिवका उम्मेदवार पूर्णदेव अधिकारीले ८१२, कोषाध्यक्षका उम्मेदवार राजेन्द्रबहादुर शाहीले ७६५ र सहकोषाध्यक्ष पदका उम्मेदवार भीमप्रसाद पौडेलले ८३२ मत ल्याएर पराजित भएका छन् ।
२०५८ मतदातामध्य निर्वाचनमा १८२४ मत खसेको थियो । काँग्रेसनिकट व्यवसायीहरुको बाहुल्यता रहेको संघका खड्का पक्षलाई राजनीतिक दलहरुले सघाएका थिए।

तपाईको प्रतिक्रिया