युक्रेनको ल्भिभ सहरमा ५ ‘शक्तिशाली’ मिसाइल आक्रमण

सुर्खेत । युक्रेनको पश्चिमी सहर ल्भिभमा आज सोमवार बिहान पाँच वटा शक्तिशाली मिसाइल आक्रमण हुँदा सात जनाको ज्यान गएको र हावामा धुवाँको मुस्लो निस्किएको रुसी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले जनाएको छ ।

ल्भिभका मेयर एन्ड्री साडोवीका अनुसार रुसी सेनाले अप्रिल १८ का दिन बिहान ल्भिभमा पाँच वटा मिसाइल प्रहार गरेको थियो । क्षतिको विवरण अझै स्पष्ट भइसकेको छैन । घाइतेको सङ्ख्या आठ पुगेको छ भने ज्यान गुमाउनेको सङ्ख्या बढ्ने क्रममा छ । ल्भिभ क्षेत्रका बासिन्दाहरूलाई आश्रयस्थलमा बस्न भनिएको छ । त्यहाँ हवाई हमलाको चेतावनी अझै जारी छ ।

रूसले पहिलो पटक देशमा आक्रमण गर्दा युक्रेनमा सबैभन्दा धेरै शरणार्थीहरू ल्भिभ सहरमा आएका थिए । खार्किभ, किभ, खेरसोन र अन्य ठाउँबाट धेरै मानिसहरू आफ्नो ज्यान बचाउन परिवारसहित त्यहाँ आएका थिए ।

मार्च १३ मा पश्चिमी युक्रेनी सहर ल्भिभमा रुसी सेनाले कुनै पूर्व जानकारीविना त्यस सहरमा एक्कासी आक्रमण गरेपछि पहिलो पटक ठूलो विष्फोट भएको थियो ।

गएको फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले आफ्नो रक्षा गर्न मद्दतका लागि अनुरोध गरेपछि रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको हो । त्यस आक्रमणपछि रुसले अहिले अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ ।

तपाईको प्रतिक्रिया