कांग्रेसले सबै पालिकामा प्रतिनिधि पठाउने, प्रदेशमा तहमा सहमहामन्त्रीहरू


काठमाण्डाै । नेपाली कांग्रेसले आउँदाे वैशाख ३० गते हुने चुनावलाई केन्द्रित गरेर सबै पालिकामा प्रतिनिधि पठाउने भएको छ ।

आज शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सबै पालिकामा प्रतिनिधि पठाउनका लागि निर्देशन दिने निर्णय गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिनुभयो । सहमहामन्त्रीहरूलाई प्रदेश तहमा तथा प्रदेश र केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लामा पठाइने पनि उहाँले बताउनुभयो ।

त्यसैगरी स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तर्गत विभिन्न उपसमिति पनि गठन गरिएको छ । उपसमितिमा भातृ सङ्घ समन्वय एवम् परिचालन, शुभेच्छुक संस्था समन्वय परिचालन, जिल्ला सम्पर्क समन्वय एवम् परिचालन, विदेशमा रहेका जनसम्पर्क समिति समन्वय एवम् परिचालन, अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय र आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिहरू रहेकाे केन्द्रीय सदस्य महरले जानकारी दिनुभयाे ।

पार्टीका उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा चुनावी सभालाई व्यवस्थित बनाउने, आचारसंहिता पालना भए/नभएको अनुगमन गर्ने सम्बन्धमा पनि छलफल भएको उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया