कर्णाली प्रदेशसभामा तीन विधेयक टेबुल, एक पारित

सुर्खेत।कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको १७ औँ बैठकमा तीन विधेयक टेबुल गरिएको छ । सभामुख राजबहादुर शाहीले सोमबारको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले विधेयक टेबुल गर्न समय दिए ।

कानूनमन्त्री शाहीले ‘प्रदेश लोकसेवा आयोग ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक,’ ‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभासमक्ष टेबुल गरिएको छ ।

त्यसैगरी उनले ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सभासमक्ष टेबुल गरेका थिए ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले कर्णाली ‘प्रदेश आर्थिक कार्यविधिको संशोधन विधेयक, २०७८’ सामान्य छलफलका लागि सभामा प्रस्ताव गरे । उक्त विधेयकमाथिको छलफल भएसँगै उपसभामुख पुष्पा घर्तीले विधेयकमाथि संशोधनको सूचना पेस गर्न ७२ घण्टाको समयसीमा प्रारम्भ भएको जानकारी दिए ।

प्रदेशसभाको सोमबारको बैठकमा ‘प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७८’ सर्वसम्मत पारित भएको छ । अर्को बैठक आज मंगलबार दिउँसो १ बजे हुनेछ ।


तपाईको प्रतिक्रिया