जनयुद्धकै शैलीमा कार्यकर्ताहरुलाई जनताको घरघर जान प्रचण्डको निर्देशन

सिन्धुली ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नै तागतमा निर्वाचन जित्ने तयारीका साथ जनयुद्धकै शैलीमा जनताको घरघरमा जान कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
सिन्धुलीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै दाहालले जनयुद्धकै शैलीमा जसरी जनताको घर–घरमा जान कार्यकर्तालाई निर्देशन दिएका हुन्।
‘अब हामीले बम बारूद पड्काउनु केही पनि छैन, हामी कता कता बिग्रेका छौं, जनताको घरमा गएर उनीहरूका कुरा सुन्न जरुरी छ,’ दाहालले भने, ‘हिजो हामी जसरी रेकी, पेट्रोल, आइएन्टी टिम बनाएर सेनासँग युद्ध लडेका थियौं, जनताका घर–घरमा गएर उनीहरूलाई हलो जोत्न, भारी बोक्न सघाउँथ्यौं, जनताले पिरमर्का बुझ्ने माओवादी हो भन्ने बुझ्थे, अहिले त्यो फेरि बुझाउन जरुरी छ।’
अहिले आफूलाई गाली नगर्ने कोही पनि नभएको भन्दै आफुलाई गालीगलौजका लागि लाखौं करोडौं खर्च गरिएको समेत उनले दाबी गरे।
उनले भने,‘गीतबाट गाली, पत्रिकाबाटगाली, हुन त माया गर्नेहरू पनि छन्, यतिधेरै गालीगलौज गर्न लाखौं करोडौं खर्च गरिएको छ, घेराबन्दी गर्ने चिथोर्ने कोपर्ने, यति गरेपछि त गल्छ कि भन्ने ठूला–ठूला षडयन्त्र भएका छन्, त्यसले झन् बढी जोश आएको छ।’

तपाईको प्रतिक्रिया