
सुर्खेत। जलाधार, उपजलाधार प्राथमिकीकरण एवम् व्यवस्थापन योजना निर्माण सम्बन्धी जिल्लागत अन्तरक्रिया कार्यक्रम सुर्खेतमा आयोजना गरिएको छ । जिल्ला समन्वय समिति सुर्खेतको समन्वयमा भु तथा जलाधारा व्यवस्थापन कार्यालय सुर्खेतले अन्तरक्रिया कार्यक्रम गरेको हो ।जलाधार तथा उपजलाधारा क्षेत्रका विषयमा सुर्खेत जिल्लाको वस्तुस्थितिबारे जानकारी दिनुका साथै तीनवटै तहका सरकारको भूमिका, नीति निर्माण, योजना र कार्यान्वयनका सम्बन्धमा अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भु संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेर बहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अन्तरक्रिया कार्यक्रमबाट आगामी आर्थिक वर्षका लागि सुर्खेत जिल्लामा कार्यान्वयन गरिनुपर्ने आवश्यक योजनाका सम्बन्धमा समेत छलफल गरिएको छ ।
भू जलाधारका व्यवस्थापनका लागि आवश्यक योजना निर्माण गरि कार्यान्वयनमा ल्याउन पहल गर्ने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामाले बताए । उनले भू संरक्षणका लागि प्रदेश सरकारले योजना बनाएर अघि बढ्ने जानकारी दिए । ‘भू जलाधार क्षेत्रको संरक्षण गर्नका लागि समयमै उचीत अध्ययन गर्न आवश्यक रहेको छ’ मन्त्री लामाले भने, ‘यसका लागि आवश्यक नीति निर्माण र योजना बनाउन तयार छु ।’कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले भूमि र जलस्रोतको विवेकपूर्ण प्रयोग आजको आवश्यकता भएको बताए । उनले संवेदनशील क्षेत्रगत आयोजनालाई मागको आधारमा नभएर आवश्यकताका आधारमा योजना कार्यान्वयन गरिनुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा अध्यक्षता ग्रहण गरेका जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले भू जलाधार संरक्षणमा तीनवटै तहले भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘तीन वटै तहले नीति निर्माण र कार्यान्वयनमा समन्वय गर्नुपर्दछ ।’ सिग्देलले भने, ‘एकले अर्कोबाट पन्छिन खोजेको जस्तो देखिन्छ । सबै सरोकारवाला निकायको समन्वय र सहकार्य हुन आवश्यक देखिएको छ ।’अन्तरक्रिया कार्यक्रममा भूगर्भविद् डाक्टर प्रदीप पौडेलले कर्णाली प्रदेशको जलवायू परिवर्तनको अवस्थाबारे जानकारी गराएका थिए ।
पौडेलले कर्णालीको भूउपयोग, भौगर्भिक स्थिति, वर्षाको स्थिति, सुर्खेत जिल्लामा पहिरोको वितरण, पहिरोका जोखित क्षेत्र लगायतका विषयमा जानकारी गराएका थिए ।
यस्तै, कन्सल्टेन्ट निरज तिमिल्सेनाले सुर्खेत जिल्लामा अवस्थित जलाधार क्षेत्रको स्थिति विश्लेषणका सम्बन्धमा प्रकाश पारेका थिए । उनले सुर्खेत जिल्लाको जलवायु परिवर्तनको अवस्था, जलाधारको चित्रण, भौगोलिक अवस्था, जल–जैविक अवस्थिति, विपत पहिरो, सुक्खा क्षेत्र, बाढी पोखरी लगायतका विषयमा जानकारी गराएका थिए ।
यस्तै, कार्यक्रममा कार्यक्रममा जलाधार तथा उप जलाधार व्यवस्थापनका विषयमा कन्स्ल्टेन्ट टिमका रविन बोगटीले जानकारी गराए । उनले जलाधार व्यवस्थापन गर्न सरकार र सरोकारवाला निकायको भुमिकाका बारेमा समेत जानकारी दिए ।
साथै, अन्तरक्रिया कार्यक्रममा विभिन्न विधागत रुपमा ग्रुप छलफल समेत गरिएको थियो । जसअन्तरगत वन तथा भु संरक्षण र पर्यटन, सडक पूर्वाधार र वस्ती विकास, सिचाई जलउपयोग र फोहोर व्यवस्थापन, कृषि तथा पशुपालन सम्बन्धी ग्रुप छलफल गरिएको थियो । छलफलबाट जिल्लामा अवगत विद्यमान अवस्था, समस्या, चुनौती र यसका समाधानका विषयमा निष्कर्श निकालिएको थियो ।


दर्शन खबर । २७ फाल्गुन २०७८, शुक्रबार