
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्।
लिगको दशौँ चरणअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्यूरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब भिड्दैछन्। यी दुई टोलीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।
एनआरटी ९ खेलबाट १३ अंक जोडेर लिगको सातौं स्थान रहेको छ। हिमालयन ९ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ। दशरथ रंगशाला मै अपराह्न पौने ५ बजे हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र संकटा क्लब भिड्नेछन्।
एपीएफ ९ खेलमा १० अंक जोडेर नवौं स्थानमा रहेको छ। संकटा भने ९ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
हिजो भएको खेलमा थ्रीस्टारले मनाङ मर्स्याङ्दी क्लबलाई एक एकको बराबरीमा रोकेको छ। लिग तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले ब्रिगेड ब्वाइजलाई २–० ले पराजित गर्दा सातदोबाटो क्लबले नेपाल पुलिस क्लबलाई १–०ले हराएको थियो।


दर्शन खबर । १ फाल्गुन २०७८, आईतवार