
वीरगन्ज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीलाई अहिले कै अवस्थामा समर्थन नगरिने बताएका छन्। वीरगन्जमा शुक्रबार समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, ‘ यथास्थितिमा एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिदैन, यो हाम्रो प्रष्ट धारणा हो।’
एमसीसीबारे सहमति नजुटे सत्तागठबन्धन नै टुट्ने आशंका चलिररहेका बेला सत्तागठबन्धनकै मुख्य घटक नेकपा एसका अध्यक्ष नेपालले भने, ‘एमसीसी बारेमा कुरा मिलेन भने गठबन्धन टुट्छ भन्ने आशंका पनि गरिएको छ, गठबन्धन टुटीसकेपछि चुनावमासँगै नजाने पो हो कि? भन्ने प्रश्न पनि उठेको छ, तर यी सबै चुनौतीको सामना गर्न हामी तयार छाैँ।’
गठबन्धनका दलहरु एक्लै चुनावमा जाँदा आफ्नो हैसियत के हुने भन्ने विषयमा जानकार रहेको पनि उनले बताए। त्यस कारण सत्तागठबन्धनका दलहरु एमसीसीबारे कसरी निष्कर्षमा पुग्ने बोरमा छलफलमा रहेको भन्दै नेपालले भने, ‘हेरौ अब के हुन्छ?’ तर संशोधन बिना आफूहरुले एमसीसीलाई समर्थन नगरिने उनले प्रष्ट पारे।
एमसीसीबारे अहिले गहन अध्ययनमा रहेको भन्दै उनले गुण र दोषका आधारमा आफ्नो पार्टी निष्कर्षमा पुग्ने बताए।
नेता नेपालले भने ,‘कुन-कुन बुँदामा करेक्सन गर्नुपर्छ भनेर हामी छलफलमा छौँ, तर अमेरिका करेक्सन गर्न तयार छैन भन्ने चर्चा पनि छ, यहिँ बारेमा अमेरिकासँग पनि छलफल चलिरहेको छ।’ एमसीसीबारे दलहरु विभाजित रहेको र जनमत पनि विरोधमा रहेकाले यसबारे जनतालाई प्रष्ट पार्नु आवश्यकता रहेको नेता नेपालले बताए।
नेता एमाले नेता नेपालले एमसीसीबारे ७ वटा सवाल उठाउदैँ त्यस बारेमा सरकारले प्रष्ट पार्नुपर्ने बताए। उनले भने, ‘पहिलो प्रश्न यो इन्डोप्यासेफिक रणनीतिको अंग हो कि होइन? दोस्रो, यो अमेरिकाको सुरक्षा रणनीति अन्तर्गत पर्छ कि पर्दैन? यसमा सैन्य संलग्नता छ कि छैन? तेस्रो, ट्रान्समिसन लाइन तलको भूभाग वा सडक बनाउँदा नेपालको सार्वभौम अधिकार रहन्छ कि रहँदैन? यस बारे प्रष्ट पार्नुपर्छ।’
यस्तै चौथो निर्माणको काममा चाहिने श्रमशक्तिमा योग्यता क्षमता अनुसार नेपाली प्रयोग गर्न पाइन्छ कि पाइँदैन? पाँचौ, त्यसबाट उत्पन्न हुने बौद्धिक सम्पत्तिमा नेपालको अधिकार सुनिश्चित हुन्छ कि हुँदैन? छैठौं, त्यसको अडिटिङ गर्ने हक नेपालको अडिटर जनरलले प्राप्त गर्छ कि गर्दैन? र एमसीसीसँग जोडिएको कानुनको बारेमा स्पष्ट धारणा आउनुपर्ने उनले बताए।
एमसीसीबारे जनताका साथै राजनीतिक दलहरु पनि विभाजित रहेकोले एमसीसी सम्झौताको मिति परसार्दा उपयुक्त हुने धारणा उनले राखे।


दर्शन खबर । २८ माघ २०७८, शुक्रबार