नेपालगन्जको ड्रिमल्याण्ड होटेल बन्द गर्ने सरकारको निर्णय

नेपालगन्ज । बक्यौता नतिरेको भन्दै सरकारले नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल बन्द गर्न निर्देशन दिएको छ।

मिनी क्यासिनोसमेत सञ्चालन गर्दै आएको ड्रिमल्याण्डले ३८ करोड १० लाख ४५ हजार ६ सय ६४ बक्यौता नबुझाएको भन्दै होटल बन्द गर्न सरकारले निर्देशन दिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको प्रस्तावमा माघ २६ गते मन्त्रीस्तरीय निर्णयले होटेल बन्द गर्ने निर्णय गरेको हो।

उक्त होटलले आर्थिक वर्ष २०७६/७७ सम्मको बक्यौता, आर्थिक वर्ष २०७७/७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आर्थिक वर्षको रोयल्टीसमेत गरि ३८ करोड १० लाख ४५ हजार ६ सय ६४ रूपैंया बुझाएको थिएन।

बाराम्बार ताकेता गर्दा पनि बक्यौता रकम नबुझाएपछि सरकारले होटल बन्द गर्ने तथा मिनी क्यासिनोको लाइसेन्स रद्द गर्ने निर्णय गरेको हो।

२०६७ भदौ २० गते ह्याप्पी आवर प्रा.लि. काठमाडौं-४ का नाममा भिडियो गेम, आधुनिक मेसिन उपकरणद्धारा कार्ड, चिप्स, क्वाइन, क्यास प्रयोग गरि आगन्तुकलाई मनोरञ्जन दिन ब्यवसायिक खेल खेलाउने अनुमति पाएको थियो।ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको भएको पनि अटेरी गरि बक्यौता नतिर्नु तथा कर छली गर्नु जस्ता कारणलाई आधार मानेर क्यासिनोको लाइसेन्स रद्द गर्ने निर्णयमा सरकार पुगेको हो ।


तपाईको प्रतिक्रिया