
जुम्ला । जुम्लाको पाटनमा जडीबुटी खोज्न जाँदा हिउँमा फसेका सबै सकुशल रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
हिउँ पग्लिन थालेपछि उनीहरु गाउँ फर्कने पर्खाइमा रहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले बताउनुभयो । हिजोदेखि घाम लागेकाले हिउँ पग्लन थालेको र एक, दुई दिनमा उनीहरु आफैँ फर्कन सक्ने अवस्था रहेको उहाँको भनाइ छ ।
आवश्यक परेमा उद्धारको लागि फेरि हेलिकप्टर जाने उहाँले बताउनुभयो । उद्धारको लागि हिजो गएको हेलिकप्टर अवतरण हुन नसकेपछि खाद्यान्न खसालेर फर्किएको छ । दुई, तीन दिनलाई पुग्ने खाद्यान्न खसालिएकाले खानेकुराको अभाव नहुने प्रशासनले जनाएको छ ।
उनीहरु तातोपानी गाउँपालिका वडा नम्बर ८ मा रहेको गाग्रा, ऐडी ओडार र खोटेसल्लामा बसेका छन् । लेकमा ५५ जना हिउँमा फसेका जानकारी आएको भए पनि त्यहाँ ३६ जनामात्रै रहेको प्रमुख जिल्ला अधिकारी प्रसाईँले बताउनुभयो ।
हिउँमा रोकिएका सबै ओडारमा आगो बालेर बसिरहेका, तत्कालका लागि खानेकुरा लगिएको र यदि उद्धारमा समस्या भए पनि थप खानेकुरा लगेर उनीहरुको ज्यान जोखिममा पर्न नदिने उहाँको भनाइ छ।


दर्शन खबर । २४ माघ २०७८, सोमबार