सुर्खेत । कर्णाली सरकारले मन्त्री परीषद विस्तार गर्ने तयारी गरेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी)ले कर्णाली प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा टुंगो लगाएका छन् । केन्द्रीय नेतृत्वसँगको समन्वयमा गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । भागबन्डा अनुसार नेपाली कांग्रेसले सरकारको नेतृत्वसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालय, माओवादी केन्द्रले उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय र नेकपा एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने सहमति भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सहमति अनुसार कांग्रेस नेतृत्वको कर्णाली सरकारमा अब कांग्रेसबाट दैलेखका सांसद हिमबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र सुर्खेतका यज्ञबहादुर बुढाक्षेत्रीलाई सामाजिक विकास मन्त्री बन्नेछन् । शाही नेपाली कांग्रेस संसदीय दलका सचेतकसमेत हुन् भने बुढाक्षेत्री पूर्व मन्त्री हुन् । बुढाक्षेत्री माओवादी नेतृत्वको सरकारमा पनि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै माओवादी केन्द्रले जाजरकोटका सांसद गणेशप्रसाद सिंहलाई उर्जा जलस्रोत तथा सिचाई मन्त्री र गैरसांसद कार्चेन लामालाई उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बनाउने तयारी गरेको छ ।


दर्शन खबर । २३ माघ २०७८, आईतवार