अधिकांश संक्रमित होम आइसोलेसनमै


सुर्खेत । पर्याप्त आइसोलेसन नहुँदा यो पटक अधिकांश कोरोना संक्रमित होम आइसोलेसनमा बसेका छन् । जाँच गराएकामध्ये दैनिक ६५ प्रतिशतमा कोरोना संक्रमण देखिए पनि अधिकांश संक्रमित घरमै बसेका हुन् । सुर्खेतमा मात्रै ८ सय २ सक्रिय संक्रमित छन् ।
प्रदेश अस्पताल सुर्खेतमा अहिले १२ जना मात्र संक्रमित भर्ना भएका छन् । अस्पतालका निर्देशक डा. डम्बर खड्काले संक्रमितलाई घरमै सहज वातावरण हुने भएकाले अस्पतालमा भर्ना नगराएको बताए ।
उनका अनुसार जटिल स्वास्थ्य समस्या देखिएका संक्रमितलाई मात्र अस्पतालमा भर्ना गरिएको छ । अस्पतालले सोमबार ६० जनाको पीसीआर जाँच गर्दा ५१ जनामा र १ सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले संक्रिमत बढेसँगै खोप अभियान तीव्र बनाइएको जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले तेस्रो संक्रमितहरूमा दोस्रो लहरको तुलनामा कम समस्या देखा परेको बताए । उनका अनुसार तेस्रो लहरमा सामान्य झाडापखाला, रुघाखोकी, टाउको दुख्नेलगायत लक्षण देखिएका छन् ।
कोरोना संक्रमण फैलन नदिन प्रदेश सरकारले सुर्खेतका दुई स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ । सुर्खेतको छिन्चु र कुइनेमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए ।
उनका अनुसार त्यहाँ स्वास्थ्य सहायता कक्ष पनि सञ्चालन गरिएको छ । कोरोना महामारीको दोस्रो लहरका बेला बबईमा स्थापना गरिएको होल्डिङ सेन्टर योपल्ट छिन्चुमा सारिएको उनले जानकारी दिए ।

 


तपाईको प्रतिक्रिया