सुर्खेतको तरंगामा स्वास्थ्य शिविर, ८ सयको उपचार

सुर्खेत । शनिवार सुर्खेतको बराहताल गाउँपालिकाको तरंगामा भएको निशुल्क स्वास्थ्य शिविरम झण्डै ८ सय जनाको निशुल्क उपचार गरिएको छ ।
बराहताल गाउँपालिकाको आयोजना शिविरमा बाल रोग, स्त्रीरोग तथा महिलाहरुको पाठेघरको क्यान्सरको परिक्षण गरिएको थियो ।
३० वर्षभन्दा माथीका महिलाले जीवनमा कम्तिमा पनि एक पटक भन्दा बढी अनिवार्य रुपमा पाठेघरको मुखको क्यान्सर जाँच गराउनु पर्छ । त्यसैले शिविरमा करिव एक सय ५० महिलाहरुको पाठेघरको मुखको क्यान्सरको चेकजाँच गरिएको छ ।
शिविरमा प्रदेश अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा. नवराज केसी, बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. केशर ढकाल र मेडिकल अधिकृत याम शर्माले स्वास्थ्य परिक्षण गरेको शिविर समन्वयकर्ता विंग्श फाउण्डेसनका सचिव दीपक गौतम बताए ।
उनले भेरी किनारको वस्ती भएकोले गर्मी समयमा लाग्ने रोगहरुबाट जोगिन तरंगामा शिविर गरिएको उल्लेख गरे ।
उपचारको लागि आएका अधिकाश बालबालिकामा कान पाक्ने समस्या देखिएको बालरोग विशेषज्ञ डा. केसीले बताए ।
भेरी नदिको किनारको वस्ती भएकोले दिनहुँजसो पौडी खेल्ने भएकोले बालबालिकामा कान पाक्ने समस्या देखिएको उनले उल्लेख गरे । कान पाक्ने बाहेक उनीहरुमा अरु खालको समस्या खासै नदिएको पनि डा. केसीले बताए ।
स्त्रीरोग विशेषज्ञ डा. केशर ढकालले उपचारको लागि आएका प्रायजसो महिलामा पाठेघरको संक्रमण देखिएको बताए । शिविरमा साविकको तरंगा गाविसका नागरिकले उपचार सेवा लिएको बराहताल गाउँपालिकाका स्वास्थ्य इकाई प्रमुख महेन्द्र खत्रीले जानकारी दिए ।
बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले यसअधि पनि वाराहताल गाउँपालिकाले ६ वटा भन्दा बढी निशुल्क स्वास्थ्य शिविर गरिसकेको बताए ।
आगामी दिनमा पनि शिविरलाई निरन्तरता दिने उल्लेख गदै उनले तरंगापछि वडा न ६ को व्युरेनी र वडा न १ को तेलपानीमा पनि निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने जानकारी दिए ।
घरदैलोमै विशेषज्ञ डाक्टरबाट उपचार पाएपछि स्थानीय बासिन्दा खुशी व्यक्त गरेका थिए । उनीहरुले शिविर आयोजना गर्ने गाउँपालिकालाई धन्यवाद समेत दिएका छन् ।
निशिल्क स्वास्थ्य शिविरमा प्रदेश अस्पताल, नेपाल अर्वुद्ध रोग निवारण संस्था सुर्खेत, नेपाल बाल पोलिक्लिनिक सुर्खेत र विग्श फाउण्डेसन नेपालले प्राविधिक सहयोग गरेका थिए ।
शिविरमा भेरी माध्यामिक विद्यालयसहित दुई वटा विद्यालय र तरंगा स्वास्थ्य चौकीलाई पानी शुद्ध गर्ने उपचार प्रदान गरिएको छ ।करिव ५० हजार रुपैया पर्ने उक्त उपकरणहरु पर्यटन व्यवसायी विशु सिजालीले निशुल्क प्रदान गरेको हुन ।

तपाईको प्रतिक्रिया