
बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले माघ १५ गतेसम्मका लागि अत्यावश्यक (शान्ति सुरक्षा) बाहेकका सेवा स्थगित गरेकाे छ ।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीसहितका धेरैजसाे कर्मचारी कोरोना सङ्क्रमित भएपछि माघ १५ गतेसम्मका लागि सेवा प्रवाह स्थगित गरिएकाे कार्यालयका प्रशासकीय अधिकृत नारायण ढकालले जानकारी दिनुभयो ।
आज सोमवार गरिएको कोरोना परीक्षणमा सहायक प्रजिअसहित १९ जना सङ्क्रमित भएपछि कार्यालयले विज्ञप्ति निकालेर सेवा प्रवाह स्थगित गरिएकाे जानकारी गराएकाे हाे ।
कोरोना सङ्क्रमित शून्य जिल्ला बनाउन अभियानमा थिएँ तर अब आफैँ पनि सङ्क्रमित हुने भइयो, प्रजिअ सन्तबहादुर सुनारले भन्नुभयाे । शान्ति, सुरक्षाबाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सङ्घ–संस्था दर्ता, नवीकरण लगायतका सेवा अहिलेलाई पाँच दिनका लागि स्थगित गरिएको उहाँले बताउनुभयो ।
कोरोना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्राेनकाे सङ्क्रमण बढेसँगै बर्दियामा झन्डै साढे पाँच सय सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


दर्शन खबर । १० माघ २०७८, सोमबार