माओवादी केन्द्रले माघ २७ गते पदाधिकारीको टुंगो लगाउँदै

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले अब छिट्टै पदाधिकारी चयन गर्ने तयारी गरेको छ । पदाधिकारी चयनको लागि नेता बर्षमान पुनलाई कुरिरहेको माओवादीले केन्द्रीय समिति बैठकबाट यसको टुंगो लगाउने तयारी गरेको छ ।

महासचिवका दाबेदार समेत रहेका पुन स्वदेश फर्किए लगत्तै माओवादी पदाधिकारी चयनको बिषयमा अघि बढाउदैछ । पुन थाइल्याण्ड हुँदै थप उपचारका लागि मंसिरमा चीन पुगेका थिए । अब आगामी २७ माघमा बस्ने बैठकबाट माओवादीले पदाधिकारी टुंगो लगाउने बताइएको छ ।

यदि सर्वसम्मत नभएमा भने निर्वाचनबाटै पदाधिकारी टुंगाउने बताइएको छ । गत शनिवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक परिपत्र जारी गरी केन्द्रीय समितिलाई पूर्णतासहित कार्यविभाजन गरिने बताएका थिए ।

पदाधिकारीमा विभिन्न नेताहरुको नाम चर्चामा आइरहेको छ । तर, माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, एक जना महासचिव, २ जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान रहेको छ । माओवादीले २९९ मध्ये २३६ जना केन्द्रीय सदस्यहरु भने चयन गरिसकेको छ । महाधिवेशनमा प्रचण्डले २३६ जना केन्द्रीय सदस्यहरुको नाम पढेर सुनाएका थिए र बन्दसत्रबाट पारित पनि गरिएका थियो ।


तपाईको प्रतिक्रिया