
सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरको कुइनेपानी जंगलबाट एक जनालाइ ब्राउन सुगर कारोबार गरेको आरोपमा पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा २६ वर्षीय दिपक बुढा छन् । उनी तिला गाउँपालिका-५ जुम्लाका हुन् । वीरेन्द्रनगर नगरपालिका-८ कुईनेपानी जंगलमा अवैध लागुऔषध ब्राउन सुगरकाे कारोबार भैरहेको छ भन्ने गोप्य सुचनाका आधारमा बुढालाइ पक्राउ गरिएकाे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।
कार्यालयकाअनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएका तीन जना प्रहरीकाे टोलीले बुढालाइ पक्राउ गरेकाे हाे । शंकास्पद अवस्थामा भेटिएका बुढालाइ चेक-जाँच गर्दा उनकाे साथबाट नापतौल नगरेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ दुइ क्वार्टर फेला परेकाे कार्यालयले जनाएकाे छ । बुढालाइ नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएकाे पनि कार्यालयले जनाएकाे छ ।


दर्शन खबर । ९ माघ २०७८, आईतवार