हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशुको ज्यान गयो

हुम्ला । जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको ज्यान गएको छ ।

सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको अस्ति ७ र नवजात शिशुको गएको बुधवार ज्यान गएको हो ।

अस्पतालका अनुसार उहाँको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो । टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उहाँलाई जिल्ला अस्पतालमा लगिएको थियो । यसपछि शल्यक्रिया गरेर बच्चा जन्माइएको थियो ।

शल्यक्रिया गरेको दुई दिनसम्म टीकाकाे स्वास्थ्यमा सुधार भए पनि अस्ति स्वास्थ्यमा समस्या देखिएको थियो ।

जुम्लाको नच्दनाथ नगरपालिका–८ कोटीला माइत भएकी टीकाको एक वर्ष अगाडि हुम्लामा विवाह भएको थियो । माइती पक्षले उहाँको शव बुझ्न मानेका छैनन् । उनीहरुले आमा र बच्चाको ज्यान जानुको कारण खुलाउन माग गरेका छन् । अस्पतालको प्रसूतिगृहमा शल्यक्रियाद्वारा बच्चा जन्माइएकाे सुत्केरीको ज्यान गएको यो पहिलो पटक हो । त्यहाँका महिलाले समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनुपरेको छ ।

जिल्लामा स्वास्थ्यकर्मी नियमित नबस्नु, औषधि उपकरणलगायतको अभावले ज्यान जाने गरेको छ । हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । गएको पुस ३० गते हुम्लाको अदानचुली गाउँपालिका वडा ६ की गौगरा छन्त्यालको सुत्केरी भएको पाँच मिनेटपछि ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया