
रुकुम (पूर्व) । सिस्ने गाउँपालिका–२ वडा कार्यालयले वडाका ज्येष्ठ नागरिक र अपांगता भएकाहरूलाई फाइबर सिरक वितरण गरेको छ।
बिहीबार वडा कार्यालय नायगाडमा सिरक वितरण कार्यक्रम आयोजना गरी सिस्ने–२ का ज्येष्ठ नागरिक र अपाङ्गलाई फाइबर सिरक वितरण गरेको हो।
चालु आर्थिक वर्ष वडाले ज्येष्ठ नागरिक र अपाङ्ग लक्षित विनियोजित बजेटले सिरक खरिद गरी वितरण गरेको हो।
चालु आर्थिक वर्षमा वडाले ज्येष्ठ नागरिक र अपाङ्ग लक्षित बजेटतर्फ ढाई लाख रुपैयाँ रहेको थियो। उक्त बजेटले वडाका ९० जना ज्येष्ठ नागरिक र २० जना अपाङ्ग व्यक्ति गरी एक सय १० जनालाई फाइबर सिरक वितरण गरिएको वडाध्यक्ष जीवन केसीले बताए। प्रतिव्यक्ति एकका दरमा सिरक वितरण गरिएको वडाध्यक्ष केसीले जानकारी दिए।
ज्येष्ठ नागरिक समाजकै अगुवा व्यक्तित्व भएकाले सम्मानस्वरूप चिसो समयमा न्यानो सिरक वितरण गरिएको केसीको भनाइ रहेको छ। ज्येष्ठ नागरिक समाजका मार्ग निर्देशक भएकाले सम्मानका साथै वर्षमा एक दिन भए पनि भलाकुसारीका लागि सिरक वितरण कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष केसीले बताए।
यसैगरी अपांगता भएका व्यक्तिलाई पनि न्यानोका लागि सिरक नै वितरण गरिएको छ। यस्तै सिरक वितरण कार्यक्रममै ज्येष्ठ नागरिक र अपाङ् व्यक्तिको स्वास्थ्य चेकजाँचका साथै औषधि वितरण र स्वास्थ्य परामर्श दिइएको छ।
स्वास्थ्य चेकजाँचको क्रममा प्रायःको स्वास्थ्य अवस्था सामान्य नै रहेको नाययगाड स्वास्थ्य चौकीका इञ्चार्ज काशिराम खड्काले बताए। वडाको उक्त उदाहरणीय कार्य प्रति ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति हर्षित भएका छन्।


दर्शन खबर । ८ माघ २०७८, शनिबार