वीरेन्द्रनगर कोरोना संक्रमणको उच्च जोखिममा, पुनः ‘हटस्पट’ बन्ने खतरा

सुर्खेत। कर्णालीको राजधानी वीरेन्द्रनगर कोरोना संक्रमणको उच्च जोखिममा छ । यसअघि पहिलो र दोस्रो चरणको लहरमा संक्रमणको केन्द्रविन्दु बनेको वीरेन्द्रनगर उपत्यका पुनः कर्णाली प्रदेशमा कोरोनाको ‘हटस्पट’ बन्ने खतरा बढेको हो । पछिल्ला दुई दिनको तथ्याङ्क हेर्दा परीक्षण गरिएकामध्ये झण्डै ६२ प्रतिशतमा कोरोना पुष्टि भएको छ । बिहीबार ८३ जनाको परीक्षण गरिएकोमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरेन्द्रनगर नगरपालिकाले यसअघि हप्ताको शुक्रबारमात्र कोरोना परीक्षण गर्ने गरेको थियो । दैनिक कोरोना संक्रमणको दर बढ्न थालेपछि बुधबारदेखि हरेक दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म परीक्षण गर्ने गरिएको गिरीले बताए ।

उनी भन्छन्, ‘हामीले कोरोना परीक्षणको दायरा बढाएका छौं । आरटी–पीसीआर र एन्टिजेन दुबै विधिबाट परीक्षण गर्ने गरिएको छ । परीक्षणका दायरा अझै बढाएको खण्डमा संक्रमितको संख्या पनि बढ्ने हाम्रो अनुमान छ ।’ प्रदेश राजधानी भएकाले यहाँ दैनिक हजारौं मान्छेको आवत–जावत भइरहन्छ । कोरोनाको तेस्रो लहर सुरु भइसक्दा सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालनामा हेलचेक्रयाई गरिरहेको जनस्वास्थ्यविद्हरु बताउँछन् ।

वीरेन्द्रनगर नगरपालिकाले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि चालु आर्थिक वर्षमा झण्डै २ करोड बजेट छुट्याएको छ । नगर प्रमुख देब कुमार सुबेदीले कोरोना रोकथामका लागि पूर्व तयारी गरिरहेको जानकारी दिए । ‘स्वास्थ्य संस्थाहरुमा औषधि, मास्क, सेनिटाइजरहरुको व्यवस्थापन गरिसकिएको छ,’ उनले भने, ‘नगरपालिकाले स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य शिक्षा दिने, मास्क वितरण गर्ने लगायतका अभियान पुनः चलाउने तयारी थालिएको छ ।’

तपाईको प्रतिक्रिया