वैशाखमा गर्नुपर्ने पालिकाको चुनाव अन्योलमा

काठमाण्डाै । सरकारले मिति घोषणा गर्न ढिलाइ गर्दा वैशाखमा हुनुपर्ने पालिकाको चुनाव अन्योलमा परेको छ ।

निर्वाचन आयोगले यसअघि नै वैशाखमा चुनाव गर्न प्रस्ताव गरे पनि सत्तारुढ गठबन्धनभित्र चुनावका अरु विकल्पबारे छलफल हुन थालेपछि पालिकाको चुनाव अन्योलमा परेको हो ।

वैशाखमा चुनाव गर्नको लागि आजभोलिमै मिति घोषणा भइसक्नुपर्छ । तर सत्तारुढ गठबन्धनको हिजोको बैठकले पालिका तहको चुनावबारे निर्णय गर्न नसक्दा मिति घोषणामा ढिलाइ भएको छ ।

हिजो बसेको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले पालिका तह चुनावबारे कानुनी अस्पष्टता रहेको भन्दै संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको छ । यस विषयमा एक, दुई दिनभित्रै छलफल हुने सत्तारुढ दलका नेताहरुको भनाइ छ ।

संविधानमा पालिकाका जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र र निर्वाचन ऐनमा भने कार्यकाल सकिनु २ महिनाअगावै चुनाव गरिसक्नु पर्ने उल्लेख भएकाले कुन कुरालाई मान्ने भन्ने विषयमा संविधान र कानुनका विज्ञसँग छलफल गर्ने सत्तारुढ दलले निर्णय गरेका हुन् । तर संविधानविद्हरुले भने आउँदो जेठ ५ गतेभित्रै पालिकाको चुनाव गर्नुपर्ने कानुनी बाध्यता रहेको प्रष्ट पारेका छन् ।

सत्ता गठबन्धनले तीनवटै तहको चुनाव एकैपटक गर्ने विकल्पमा छलफल थालेपछि संविधानविद्हरुले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव वैशाख–जेठमा गर्न नमिल्ने र मंसिरसम्म कुर्नै पर्ने बताएका छन् ।

पालिकाको चुनाव पछि धकेलेर पहिले सङ्घीय चुनाव गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको चौतर्फी आलोचना भएपछि सत्ता गठबन्धनभित्र तीनै तहको चुनाव एकैपटक गर्ने विकल्पमा छलफल सुरु भएको हो ।

तपाईको प्रतिक्रिया