सुर्खेतमा ८७ मेट्रिकटन सखरखण्ड भारतबाट आयात

सुर्खेत । माघे संक्रान्ति (माघी)लाई लक्षित गरेर छिमेकी देश भारतबाट ८ सय ७५ क्विण्टल सखरखण्ड (गञ्जी) कर्णाली भित्रिएको छ । गएको एक साता यतामात्रै भारतबाट आयात गरिएको उक्त सखरखण्ड सुर्खेत भित्रिएको हो ।
कृषि बजार व्यवस्थापन समिति सुर्खेतका अनुसार कर्णाली प्रदेशका जिल्लाहरुका लागि भनेर भारतका विभिन्न स्थानबाट गञ्जी खरिद गरि ल्याइएको हो । स्थानीय मागका आधारमा कर्णालीमा निकै कम उत्पादन भएपछि हरेक वर्ष यहि अनुपातमा गञ्जी आयात हुँदै आएको छ ।
कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक केशर रास्कोटीले भने, ‘कर्णालीका जिल्लाहरु सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, जाजरकोटलगायतका जिल्लाहरुकालागि गञ्जी आयात भएको हो । कृषिबजारमा रहेका फलफुल तथा तरकारी पसलहरुले मात्र उक्त परिमाणमा आयात गरेका हुन् ।’
रास्काटीका अनुसार भारतको उत्तरप्रदेश आसपासका विभिन्न जिल्लाहरुमा उत्पादन भएका गञ्जी कर्णालीको लागि आयात गरिएको हो । वीरेन्द्रनगरमा अहिले ६० देखि ७० रुपैयाँ केजी थोक मुल्यमा गञ्जी बिक्रिवितरण भईरहेको छ ।
यसपाली कर्णालीकालागि भनेरै भारतबाट तरुण भने आयात भएन । कृषिबजारमा रहेका फलफुल तथा तरकारी पसलहरुले चितवन र सुर्खेतबाटै तरुण खरिद गरेका छन् । ५५ कुन्टल चितवनबाट र ३५ कुन्टल सुर्खेतबाटै तरुल खरिद गरिएको हो ।

 

के हो माघे संक्रान्ति ?
माघे संक्रान्तिका दिनलाई ‘पुसको पाक्य, माघको खाक्य’ पनि भन्ने चलन छ । पुसको अन्तिम दिन पकाउने माघको पहिलो दिनबिहान सूर्य नउदाउँदै नुवाइ–धुवाइ गरी परिकार खाने चलन छ । यहीदिन सूर्य धनु राशिबाट मकर राशिमाप्रवेश गर्दछ । यहीदिनलाई माघे संक्रान्ति, तलुवा संक्रान्ति र मकर संक्रान्ति पनि भन्ने गरिन्छ
घिउ, चाकु, तरुल, सखरखण्ड, तिलको लड्डु र खिचडी यस दिनकाविशेष परिकार हुन् । माघमध्य हिउँदको एक महत्वपूर्ण महिना पनि हो ।
माघीको दिनदेखि सूर्यको दिशा उत्तरायण तर्फ लाग्दछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो बन्दै जाने देखिन्छ । यही दिनबाट हिउँद घट्दै जाने र वसन्तका साथगर्मी बढ्दै जाने मान्यता छ ।

नयाँवर्षसँगै मुखिया चयन हुने पर्व
जिल्लाका थारु बस्तीमा माघी पर्वको रौनक छ । १ माघलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ । यसका साथै १ माघदेखि थारु संवत २६४४ सुरु हुँदैछ । घरबाहिर रहेका सदस्यहरु पनि माघी मनाउन आइसकेका छन् । थारु समुदायमा माघीसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ ।
थारु समुदायमा बंगुरको मासु, माछा, घोंगी, गङ्गेटालगायत खानाका परिकार माघिमा खाने गरिन्छ । यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लत्ताकपडाको पनि उचित जोहो हुने गरेको वीरेन्द्रनगर–१० का रणबहादुर चौधरीले जानकारी दिए ।
थारु समुदायमा गाउँका मुखिया, गुरुवा (धामीझाक्री) र चिरागी (कटवाल) पनि चयन गरिन्छ । गाउँमा सडक ममर्तदेखि सार्वजनिक कार्यक्रम, खोप कार्यक्रम लगायतको जानकारी चिरागी मार्फत दिइन्छ । सामाजिक काममा भल्मन्साको रोहबरमा निर्णय हुन्छ । ससाना विवाद पनि यही टिमले समाधान गर्छ ।
माघीको दोस्रो दिन २ माघमा गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ । त्यस दिन छलफलका माध्यामबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ । काँक्रेविहार दैनकिमा खबर छापिएको छ ।


तपाईको प्रतिक्रिया