प्रदेश अस्पतालका सबै स्वास्थ्य कर्मचारीको स्वास्थ्य बीमा गरिदै


सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालका सबै स्वास्थ्य कर्मचारीको स्वास्थ्य बीमा गर्न थालिएको छ । अस्पतालमा कार्यरत कार्यालय सहयोगीदेखि मेडिकल निर्देशकसम्म गरी करिब ३५० जना स्वास्थ्य कर्मचारीको स्वास्थ्य बीमा गर्न थालिएको हो ।

बुधबार स्वास्थ्य बीमा बोर्ड कर्णाली प्रदेश प्रमुख अर्जुन पण्डितले अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्कालाई स्वास्थ्य बीमा कार्ड उपलब्ध गराएर स्वास्थ्य कर्मचारीको बीमा कार्यक्रम सुरु गरिएको छ । पाँच जनासम्म परिवार भएका अस्पतालका कर्मचारीलाई तीन हजार पाँच सय रुपियाँको बीमा गरिने छ । जसमा आधा रकम अस्पतालले र आधा रकम स्वयम् व्यक्तिले तिर्नुपर्ने जानकारी निर्देशक प्रा.डा. खड्काले दिए ।

पाँच जनाभन्दा बढी सदस्य भएकाले भने प्रतिसदस्य सात सय रुपियाँ थप गर्नुपर्ने छ । अस्पतालमा बीमा गर्नका लागि वीरेन्द्रनगर नगरपालिका–४ का बीमा दर्ता सहयोगी सुष्मा खनाललाई खटाइएको छ । अस्पतालमा कार्यरत कार्यालय सहयोगीदेखि सिनियर कर्मचारी, स्वास्थ्यकर्मी सबैको स्वास्थ्य बीमा गर्दा उपचारमा सहयोग हुने र सरकारको कार्यक्रम पनि सफल हुने उनको भनाइ छ ।

आधा र कम अस्पतालले तिर्ने भएपछि कर्मचारी पनि स्वास्थ्य बीमा गर्दा खुसी देखिएका छन् । अब बीमा गरिएपछि अस्पतालले कर्मचारीका आश्रित परिवारलाई दिँदै आएको आंशिक तथा अन्य पूर्ण उपचार सेवा बन्द हुनेछ । स्वास्थ्य बीमा बोर्डका प्रदेश प्रमुख अर्जुन पण्डितले अस्पतालले पनि बीमा कार्यक्रम सफल बनाउन महत्वपूर्ण सहयोग गरेर राम्रो कामको सुरुवात गरेको बताए ।

उनले यहीँ पुस ३० गतेसम्म बीमा गराए आगामी फागुन १ गते देखि बीमितले सेवा पाउन सुरु गर्ने जानकारी दिए । अस्पतालका सबै कर्मचारीले बीमा गर्दा अन्य क्षेत्रका कर्मचारीलाई पनि सकारात्मक प्रभाव पर्ने उनले बताए । पण्डितका अनुसार कर्णालीमा दुई लाख ९० हजार रुपियाँले स्वास्थ्य बीमा गराएका छन् ।

कर्णाली प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । यता, प्रदेश अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम फोकल पर्सन रामप्रसाद अधिकारीले प्रदेश अस्पतालमा उपचार गर्न आउने मध्ये करिब ४० प्रतिशतले स्वास्थ्य बीमाबाट उपचार सेवा पाएको बताए । उनले हाल मासिक करिब सात हजार जनाले बीमाबाट उपचार पाउने गरेको जनाए । स्वास्थ्य बीमाका लागि अस्पतालमा छुट्टै विभाग गठन गरेर सहज रूपमा सेवा प्रदान गरिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया