महाबु गाउँपालिकामा ९० प्रतिशत बजेट खर्च

दैलेख । चालु आर्थिक वर्षको अन्त्यमा जिल्लाको महाबु गाउँपालिकाको ९० प्रतिसत बजेट कार्यान्वयन भएको छ । गाउँपालिकाले चालु तर्फ ४ करोड १४ लाख ८८ हजार र पुँजीगततर्फ १० करोड ४६ लाख ७२ हजार ९ सय ७२ रुपैयाँ र कन्टेन्जेन्सी तर्फ ३ प्रतिसतका दरले हुन आउने रकम ३१ लाख ४० हजार १ सय ८९ रुपैयाँको बजेट सार्वजनिक भएको थियो । उक्त बजेटमध्ये ९० प्रतिसत रकम भुक्तानी भैसकेको र बाँकी १० प्रतिसत काम सम्पन्न भैसकेको तर भुक्तानी लिन बाँकी रहेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए ।
पुँजीगतर्फको बजेट मध्ये १० लाख रकमभन्दा ठूला योजनाहरुमा एम्बुलेन्स, जिप, जेसिवि खरिदका लागि १ करोड रकम विनियोजन भएको थियो । जसमध्ये ४२ लाख ५० हजारमा जेसिवि कम्पनीको डोजर, ४० लाख ५० हजार रुपैयाँमा स्कार्पियो एस टेन मोडेलको गाडि र १० लाख ५० हजार रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाले जनाएको छ । यी मध्ये एम्बुलेन्स खरिद भैसकेको र गाउँपालिकामा ल्याउन बाँकी रहेको गाउँपालिकाका अध्यक्ष शाहीले बताए ।
गाउँपालिका केन्द्र गैडावाज, रानिवन, एकपाटे सडक २४ लाख, गैडावाज, बाँसी, सैनचौर सडक २१ लाख, फागु, गडिगाउँ, गोर्ति सडक १२ लाख, एकपाटे, टाकुरी, जौखोरिया सडक १० लाख, लामिडाँडा, उत्तिसेनी सडक निर्माणका लागि १९ लाख, राउटे बजार खेलकुद मैदानका लागि २० लाख, मर्मत सम्भार कोष २० लाख १६ हजार ७ सय र दैविप्रकोप तथा विपद् व्यवस्थापन कोषमा १५ लाख रकम विनियोजन गरिएको थियो ।
त्यसैगरी विद्युतिकरण कार्यक्रम अन्र्तगत बाँसी, गिताचौर, काँसिकाँधका लागि ५० लाख रकम विनियोजन गरिएकोमा सामुदायिक विद्युतिकरणको कार्यक्रम संचालनमा ल्याउने भन्दै हाल कार्यप्रारम्भमा ढिलाई भएको अध्यक्ष शाहीले बताए ।
साथै आगामी आर्थिक वर्षका लागि वस्तिस्तरका योजना छनौटका लागि यही जेठ ७ गतेसम्मका लागि मिति तोकिएको छ भने १३ गतेभित्र सबै वडास्तरीय भेला गर्नको लागि सूचना प्रकाशित गरिसकेको छ । आगामी आर्थिक वर्षको बजेट जनतामा आधारीत बजेट आउने अध्यक्ष शाहीको भनाई छ ।


तपाईको प्रतिक्रिया