वैदेशिक रोजगारमा जानेलाई दु:ख दिए कारबाही गर्छु – मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रेजगारका लागि विदेशमा जाने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिनेलाई कारबाही गरिने बताएका छन् ।
एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपालको ज्ञापनपत्र ग्रहण गर्दै सोमवार मन्त्री आले भने, ‘वैदेशिक रोजगारीमा जाने गरीब नागरिकलाई सबैले सम्मान गर्नुपर्छ, दुःख दिने नियतले काम कुरा गर्नु गलत हो ।’
संगठनले वैदेशिक रोजगारका लागि विदेश जाने श्रमिकहरूलाई विमानस्थलमा दुःख दिने गरेको जानकारी गराएका थिए ।

 

मन्त्री आलेले वैदेशिक रोजगारमा जाने नागरिककै कारण देशमा रेमिट्यान्स भित्रिएको र सोझा, सिधा नागरिकलाई अनेकन बहानामा दुःख दिनु गलत भएको बताए । आफू मन्त्री भएपछि वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विश्रामस्थल, खानेपानी र निःशुल्क वाइफाईको व्यवस्था गरेकाले आफू श्रमिकहरूका पक्षमा सधैं सकारात्मक रहेको समेत मन्त्री आलेले जानकारी गराए ।
मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले दैनिक ४० जना वैदेशिक रोजगारमा जाने श्रमिकलाई सस्तो दरको टिकट प्रदान गर्दै आएको छ । सो संगठनका अध्यक्ष सन्तकुमार लामाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारका लागि जाने श्रमिकहरूसँग आवश्यक कागजपत्र हुँदाहुँदै पनि विभिन्न बहाना देखाई कागजपत्र नपुगेको भन्दै त्यहाँ कार्यरत कर्मचारीहरूले दुःख दिने गरेको गुनासो गरेका थिए ।


तपाईको प्रतिक्रिया