अघिल्लो वर्षको तुलनामा बढ्यो यो वर्ष प्रेस स्वतन्त्रता हननका घटना 


काठमाण्डाै । सन् २०२१ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ ।

नेपाल पत्रकार महासङ्घकाअनुसार यो वर्ष पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण रह्यो ।

महासङ्घको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि आजसम्म ६२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । ६२ वटा घटनामा १ सय ९० जना पत्रकार पीडित भएका छन् भने ४ वटा सञ्चारमाध्यम प्रभावित भएका छन् ।

यस वर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुर्व्यवहारका घटना भएका छन् भने पेसागत असुरक्षाका १० वटा घटना भएका छन् । त्यस्तै, कब्जा र अवरोधका १० वटा घटना भएका छन् भने पत्रकार आक्रमणका ५ वटा घटना भएका छन्। यसैगरी पत्रकार गिरफ्तारीका ४ वटा घटना भए भने नीतिगत बन्देजको एक वटा घटना भएको महासङ्घको अभिलेखमा छ ।

समग्रमा यो वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार सङ्कलनका क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुर्व्यवहार लगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेका महासङ्घले जनाएको छ । भ्रष्टाचार, अनियमिततालगायतका समाचार लेख्दा वा प्रसारण गर्दा पत्रकार र सञ्चारमाध्यमले यस्तो समस्या बेहोर्नु परेको महासङ्घको निष्कर्ष छ ।

विज्ञप्ति :

तपाईको प्रतिक्रिया