रुकुम पश्चिमको आठबीसकोटमा सडक निर्माणका लागि हेलिकप्टरबाट डोजर ढुवानी

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर–१ मा सडक बनाउन हेलिकप्टरबाट डोजर ढुवानी गरिएको छ ।

वडा नम्बर–१ चैतिखारामा सडक बनाउन हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो । नगरपालिकाको वडा नम्बर–३ खदीमा रहेको डोजर आज दिनभरिमा वडा नम्बर एकमा पुर्याइ सकिने नगरप्रमुख केसीले बताउनुभयो ।

हिजो पनि हेलिकप्टर गोतमकोट पुगेर डोजरका सामग्री ढुवानी गरेको थियो । वडा नम्बर–१ मा रहेको साजेबगर–चैतिखारा–बारिङ्गे सडक निर्माणका लागि हेलिकप्टरबाट डोजर ल्याउनुपरेको वडा अध्यक्ष देवबहादुर घर्तीले बताउनुभयो । दुर्गम गाउँ बस्तीमा सडक पुर्याउने उद्देश्यले हेलिकप्टरबाट डोजरका सामग्री ढुवानी गर्नुपरेको नगरप्रमुख केसीको भनाइ छ ।

आठबीसकोट नगरपालिकाभित्र ३ सय किलोमिटर सडक सञ्जाल रहेको र सबै ठाउँमा ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया