
मुगु । मुगु गमगढी बजारमा गए राति भीषण आगलागी हुँदा २० घरटहरा जलेर नष्ट भएका छन्। राति करिब १२ः३० मा सुरू भएको आगलागी बिहान ४ः३० मा मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले बताउनुभयो । आगो फैलिन नदिन प्रहरीले एक घर भत्काउनुपरेको उहाँले जानकारी दिनुभयो ।
स्थानीय ठिन्ले लामाको घरमा बालेर राखेको दियोबाट आगो फैलिएको अनुमान गरिएको भट्टराईले बताउनुभयो । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा पानी र माटो प्रयोग गरेर चार घन्टापछि आगो नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । दमकल नहुँदा आगो निभाउन समय लागेको हो।
आगलागीबाट घरबारबिहीन भएकाहरूलाई छिमेकीका घर र आफन्तकहाँ राखिएको छ। उनीहरूलाई राहत उपलब्ध गराउन आज बिहान जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसेको बताइएको छ ।
आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ। पसल भएका घरहरू पनि जलेकोले धेरै क्षति भएको अनुमान छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन।


दर्शन खबर । ३० कार्तिक २०७८, मंगलवार