घाँटी रेटेर सात वर्षीया बालिकाको हत्या

सुर्खेत । लेकबेसी नगरपालिका–१ ढापखर्ककी सात वर्षीया बालिकाको हत्या भएको छ । घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको हो । लेकबेसी नगरपालिका ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारको हत्या भएको हो।

उनको घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

आइतबार बिहान १०ः०० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी उनी घर नफर्केपछि परिवारले सोमबार बिहान ९ः०० बजे इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो । खबर प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा रहेको पाँच प्रहरीको टोलीले खोजतलास गर्दा देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियोे ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया