![]()
सुर्खेत । रुकुमपश्चिममा भलिबल प्रतियोगिता हेर्न गएकी एक बालिका बलात्कृत भएकी छन् । नलगाड नगरपालिकाकी १४ वर्षीय बालिकालाई बलात्कार गरेर अचेत अवस्थामा छाडेर भागेका एक व्यक्ति फरार रहेका छन् । रुकुमपश्चिम आठविस नगरपालिका–१४ पिपलचौतरा बस्ने २६ वर्षीय झलक जैशीले बलात्कार गरेको उजूरी दिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार बालिका आठविस नगरपालिको बाँकेज्यूलामा भलिबेल खेल हेर्न गएको खुलेको छ । उनी बुधबार राती ८ बजे बलात्कृत भएको प्रहरीले जनाएको छ । ‘पीडित बालिकाका बुवाले ईलाका प्रहरी कार्यालय आठबिसकोटमा लिखित उजूरी दिएपछि जैशीको खोजी भइरहेको,’ प्रवक्ता श्रेष्ठले भने, ‘प्रारम्भीक अनुसन्धानका क्रममा जैशीले बालिकालाई बलात्कार गरी अचेत अवस्थामा छोडी भागेको पीडित परिवारले दिएको उजुरीमा उल्लेख छ ।’
बालिकालाई आठबिसकोटस्थित नगर अस्पताल राडीमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ । बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । फरार रहेको जैशीको खोजी भइरहेको प्रहरीको भनाई छ ।


दर्शन खबर । १२ कार्तिक २०७८, शुक्रबार