प्रदेश प्रमुख कार्यालय पुगेर अष्टलक्ष्मीले बुझाइन् राजीनामापत्र


हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख कार्यालय हेटौँडा पुगेर प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामापत्र बुझाएकी छन्। शाक्यले आज बुधबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेकी थिइन्।

उनले संविधानको धारा १६९ को १ (क) बमोजिम मार्गप्रशस्त (राजीनामा) गरेकी हुन्। उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवादसमेत दिइन्।

गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्दा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नबारे शाक्यले आजको प्रदेशसभा बैठकमा उत्तर दिएकी थिइन्।

राजीनामापत्र बुझेसँगै अब प्रदेश प्रमुख यादवचन्द्रले सरकार बनाउनका लागि दलहरूलाई आह्वान गर्नेछन्।

विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरिसकेको छ। बागमतीमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ।

नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखले सरकार बनाउन आह्‍वान गरेलगत्तै आफूहरू आवश्यक मत संख्यासहित उपस्थित हुने बताएका छन्।

प्रदेश सभामा एमालेका ४३‚ माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३‚ विवेकशील साझा पार्टीका ३‚ नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई/दुई तथा जनता समाजवादी पार्टीका १ सांसद् छन्।

सरकार बनाउन कम्तीमा ५५ सांसदको समर्थन चाहिन्छ।

तपाईको प्रतिक्रिया