शैक्षिक सुधारकालागि सिम्तामा पढाई उत्सव

लक्ष्यबहादुर सुनार
सुर्खेत ।

बालवालिकाहरुको शैक्षिक सुधारकालागि सिम्तामा पढाई उत्सव कार्यक्रमको आयोजना गरिएको छ । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विकास समन्वय ईकाई सुर्खेत र सिम्ताको स्थानिय शिक्षा ईकाईको आयोजनामा गाउँपालिकाको वडा नम्बर ६ मा रहेको वागेश्वरी माध्यामिक विद्यालयमा एक भव्य कार्यक्रमको आयोजना गरि पढाई उत्सव सम्पन्न गरिएको छ ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम (ईजिआरपी) ले सिम्ताका सरकारी विद्यालयहरुमा पढाई उत्सव कार्यक्रम गरेको छ । खासगरि प्राथमिक तहका वालवालिकाहरुको शैक्षिक अवस्था सुधारकालागि ईजिआरपीले सिम्ताका प्रावि तहका वालवालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण संगै विभिन्न विद्यार्थी केन्द्रित शैक्षिक गतिविधि गर्दै आईरहेको छ ।
सरकारी विद्यालयहरुप्रति विद्यार्थी र अभिभावकहरुको आकर्षण घटिरहेका वेला सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारकालागि पढाई उत्सव आयोजना गरिएको ईजिआरपीका कार्यक्रम संयोजक रुपक पौडेलले सिद्धदर्शन दैनिकलाई जानकारी दिए ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम ईजिआरपीले सिम्ताका प्राथमिक तहका वालवालिकाहरुलाई पढाईप्रति अभिरुचि जगाउन विभिन्न हस्तलिखित शैक्षिक सामाग्री , शब्दपत्ति , वाक्यपत्ति , विभिन्न चित्रहरु हस्तान्तरण गरेको संयोजक पौडेलले जानकारी दिए ।
पढाई उत्सव कार्यक्रममा प्रावि तहमा अध्यनरत वालवालिकाका अभिभावक संगै राखेर विभिन्न उनीहरुको शैक्षिक प्रगति समेत मुल्यांकन गरिएको छ । शब्दपत्ति, वाक्यपत्तिबाट थुप्रै अक्षर सोध्दै उनीहरुको मुल्यांकन गरिएको छ । जसमा कक्षा १ देखि ५ सम्मका प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने वालवालिकाहरुलाई पुरुस्कारको व्यवस्था समेत गरिएको थियो ।
पढाई उत्सव कार्यक्रममा सिम्ता गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राजेन्द्र सिहंले वालवालिकाको शैक्षिक गुणस्तर सुधारकालागि यस्ता कार्यक्रमले ठुलो महत्व राख्ने औल्याए । उनले वडा कार्यालयले वालवालिकाहरको शैक्षिक सुधारकालागि विद्यालयसंग समन्वय गरेर सोही खालको योजना बनाउने बताए । सिंहले वालवालिकाहरुलाई डर, त्रास वाट मुक्त बनाई रमाई रमाई पढ्ने वातावरण बनाएपछि मात्र सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकहरुको पनि आकर्षण बढ्ने बताए ।
सिम्ता गाउँकार्यपालिका सदस्य सुनिल बादीले निम्न आय स्तर भएका परिवारका वालवालिका मात्र सरकारी विद्यालयमा पढ्ने, उच्च आयस्रोत भएकाहरु महङ्गा नीजि विद्यालयमा पढ्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए ।
उनले वागेश्वरी माध्यामिक विद्यालयमा मौलाएको राजनीतिका कारण हालसम्मपनि विद्यालय व्यवस्थापन समितिले पुर्णता पाउन नसकेको भन्दै उनले समग्र शिक्षाको सुधारकालागि विद्यालयमा हुने राजनीतिको अन्त्य हुनुनपर्नेमा जोड दिए ।
यसैबिच राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको प्रभाव राम्रो भएको भन्दै सिम्ता गाउँपालिकाले आगामी आव देखि सबै विद्यालयहरुमा कार्यक्रम सञ्चालन गर्ने बताएको छ । हाल सिम्तामा रहेका दुई स्रोत केन्द्र चोल्पा स्रोत केन्द्र र बजेडीचौर स्रोत केन्द्रका ११/११ विद्यालयमा ईजिआरपीको कार्यक्रम सञ्चालित छ । कार्यक्रम सञ्चालन भएका विद्यालयहरुमा वालवालिकाको शैक्षिक गुणस्तरमा केहि सुधार देखिएको र कार्यक्रम प्रभावकारी भएको ठहर गर्दै गाउँपालिकाले सबै विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
शैक्षिक सुधारकालागि प्रतिवद्ध छु : सांसद विष्ट
सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ (क) वाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले आफु शैक्षिक सुधारकालागि प्रतिबद्ध रहेको बताएका छन । उनको निर्वाचन क्षेत्र रहेको सिम्ता गाउँपालिका वडा नं ६ स्थित वागेश्वरी माध्यामिक विद्यालय राकममा शैक्षिक सुधारकालागि गरिएको पढाई उत्सव कार्यक्रममा बोल्दै सांसद विष्टले यस्तो बताएका हुन ।
शिक्षा नै समाज परिवर्तनको पहिलो आधार भएकाले गुणस्तरीय शिक्षा विना समाज रुपान्तरण हुनै नसक्ने ठोकुवा गरे । सांसद विष्टले प्रावि तहका वालवालिकाहरुलाई पढाईप्रति आकर्षण बढाउन र शैक्षिक अवस्था सुधार गर्न पढाई उत्सवको आयोजना गरिएको भन्दै राष्ट्रिय प्राराम्भिक कक्षा पढाई कार्यक्रम र विद्यालयलाई धन्यवाद समेत दिए ।
उनले सम्बृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्न तीनै तहका सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए । सिम्तामा रहेका विद्यालयहरुको शैक्षिक तथा भौतिक अवस्थाको जानकारी लिदै थप सुधारकालागि आफुले प्रदेश सरकारसंग पहल गर्ने आश्वासन दिए ।
उनले भने , ‘म निर्वाचित भैसकेपछि सिम्ताका धेरै विद्यालयहरुमा नयाँ निर्माणको कार्य शुरु भएको छ ।’ कर्णाली सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगतको विद्यालयको भोति सुधारकालागि सिम्ताका धेरै विद्यालयमा योजना पारेर निर्माण कार्यको सुरुवात समेत भैसकेको उनले जानकारी दिए ।
वागेश्वरी माध्यामिक विद्यालय भवनको निरिक्षण गर्दै सांसद विष्टले उक्त विद्यालयको भौतिक सुधारकालागि आफुले पहल गर्ने र कस्तो खालको भवन बनाउने भनेर विद्यालयका शिक्षक, विव्यस र स्थानीयहरुले योजना सहितको फाईल बुझाउन आग्रह गरे ।
साथै सिम्ताका धेरै स्थानका विद्यालयहरुमा अझै पुरानै संरचनाका भवनहरुमा पठनपाठन गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै यसकालागि छिट्टै पहल गर्ने बताए ।

तपाईको प्रतिक्रिया