
हुम्ला । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको नमस्ते टेलिफोन सेवाले एक महिनादेखि काम गर्न छाडेको छ । नेपालीहरुको महान् पर्व दसैँ र तिहारको मुखमा टेलिफोन सेवाले काम नगर्दा सेवाग्राही सञ्चार सेवा उपभोग गर्नबाट बञ्चित हुनाका साथै दसैँको शुभकामना आदानप्रदान गर्नसमेत नपाएको गुनासो गर्न थालेका छन् ।
एक महिनादेखि टेलिफोनको टावरले काम नगर्दा सिमकोट गाउँपालिका–१ देखि ३ र खार्पुनाथ गाउँपालिका–५ को ताक्ला, बाम्टा र कुम्लिक गाउँका सेवाग्राहीमा सञ्चार आदान–प्रदानमा प्रतक्ष असर परेको छ । गत भदौ महिनाको २२ गतेदेखि हेल्दुङ साना जलविद्युत् आयोजनाबाट वितरित विद्युत् सेवा अवरुद्ध भएकाले वडा नं ३ बरगाउँमा रहेको नमस्तेको टावरले काम गर्न छाडेको स्थानीयवासी हेमन्त बोहराले बताए ।
लगातार एक महिनादेखि टेलिफोनले काम गर्न छाडेकाले दुईवटा गाउँपालिकाका हजारौँ सेवाग्राही सञ्चारको मारमा पर्दै आएको उहाँको गुनासो थियो । दसैँको मुखमा एकअर्कालाई शुभकामना आदानप्रदान गर्नसमेत नसकिएको बोहराले बताए ।
बरगाउँमा रहेको टावरमा विद्युत् जोडिएका कारण विद्युत् आएमा टावर आउने नत्र काम नगर्ने स्थानीयवासीको भनाइ थियो। उनीहरूले सो टावरमा विद्युत् जडानको भर गर्नुभन्दा सौर्य उर्जा जोडेर टावर सञ्चालनमा ल्याउन सरोकार निकायलाई अनुरोधसमेत गरेका छन् ।


दर्शन खबर । २४ आश्विन २०७८, आईतवार