चाडपर्व सुरक्षा योजनाः ४ हजार प्रहरी परिचालन गर्दै कर्णाली प्रदेश


सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दशैं, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयले नेपालीहरुको महान् पर्व विजयादशमी, दिपावली तथा छठमा हुने अवाञ्छित तथा अपराधिक गतिविधि नियन्त्रण एवं सडक अनुशासन कायम गर्न चाडपर्व लक्षित सुरक्षा कार्य योजना ल्याएको हो । यस योजनाअन्तरगत १० जिल्लामा एकएक कमाण्ड सेन्टर स्थापना गरी चार हजार ३५१ प्रहरी जनशक्ति खटाईएको कणर्ाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जानकारी दिए ।
सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुहरुलाई ठगिन नदिन, समान हराए खोजतलास गर्ने, पकेटमारी, चोरी, लुटपाट र ठगी नियन्त्रण तथा चाडपर्वको अवधिमा हुन सक्ने झै-झगडा तथा सम्भावित विवादको रोकथाम गर्ने योजना प्रहरीले बनाएको छ ।
प्रदेश प्रहरी कार्यालयले तत्काल आईपर्ने घटनाको उद्धार तथा राहतका लागि उद्धार टोली व्यवस्था गरेको छ । त्यस्तै, अपराध नियन्त्रण तथा सवारी दुर्घटना नियन्त्रणका लागि आकस्मिक चेक प्वाईन्ट, मोबाईल, पैदल एवं मोटरसाईकल गस्ती तथा सीमा नाकामा तालिम प्राप्त कुकुरसहित चेकिङ्को व्यवस्था गरिएको छ ।
प्रदेश प्रहरी कार्यालयले चाडपर्व अवधिभरका लागि ११४ वटा क्वीक रेस्पोन्स टिम परिचालन गरेको छ भने मादक पदार्थ सेवनसहित १२९ स्थानमा नियमित चेक प्वाईन्ट ड्यूटीको व्यवस्था गरेको छ । त्यस्तै, सीमानाहरुमा चोरी तस्करी नियन्त्रण गर्न नौ, ट्राफिकसहितको संयुक्त चेकिङ ४६, जुवातास, चोरी, लुटपाट, भै-झगडा नियन्त्रणका लागि ७० र पिकेट राजमार्गमा स्कटिङ मोबाईल तथा पैदल गस्ती ३८७ स्थानमा गर्ने योजना अनुरुप प्रहरीले काम अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया