सल्यानमा वर्षमा ६९ जनाले गरे बन्ध्याकरण


सल्यान । सल्यानका स्वास्थ्य संस्थाहरूमा एक वर्षको अवधिमा ६९ जनाले स्थायी बन्ध्याकरण गरेका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार एक वर्षको अवधिमा ५७ पुरुष र १२ महिलाले स्थायी बन्ध्याकरण गरेका छन् ।
कोभिड १९ का कारण परिवार नियोजन सम्बन्धी स्वास्थ्य सेवा लिन सेवाग्राहीहरूको सङ्ख्यामा कमी आएको कार्यालयले जनाएको छ । परिवार नियोजनका अस्थायी र स्थानीय सेवा लिने सेवाग्राहीहरू कोभिडकै कारण नियमित स्वास्थ्य संस्थामा आउन नसक्दा सङ्ख्या केही कम देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए ।
कार्यालयका अनुसार परिवार नियोजनका साधन पिल्स १ हजार २ सय ६२, डिपो ४ हजार ८ सय ८२, आईयुसिडी १ हजार ९ सय ९६, इम्पलान्ट ६ हजार ६ सय ५३ ले प्रयोग गरेका छन् । एक वर्षको अवधिमा ४ लाख ३३ हजार ५ सय १ कन्डम वितरण गरिएको सूचना अधिकारी डिसीले बताए ।

 

तपाईको प्रतिक्रिया