
मुगु । गाउँ आसपासमा रहेका सामुदायीक वनमा जडिबुटी खोज्न स्थानियलाई भ्याईनभ्याई भएको छ ।
अहिले मुगुका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दा जडीबुटी संकलन गर्न व्यस्त भएका छन् । स्थानीयलाई सामुदायिक वनहरूमा पाइने कटुकी, भोल्ते, चिराइतो, वनलसुनलगायत जडीबुटी टिप्ने चटारो भएको हो । अहिले मुगुमकार्मारोङको छापाखोला, च्याम्ने, मह र माग्रीलगायत सामुदायिक वनमा जडीबुटी खोज्ने स्थानीयको लर्को लागेको छ । स्थानीयहरू छायानाथ र ऋणिमोक्ष, चितैलगायत पाटनसम्म पुगिरहेको मुगुमकार्मारोङ गाउँपालिका वडा नम्वर ५ का उर्गिन तामाङले बताए । उनका अनुसार डोल्फु, मुगु र चितैका झन्डै ३ सय परिवार वनमै टेन्ट टाँगेर जडीबुटी खोज्न व्यस्त छन् । ‘सिजनका बेला जडीबुटी नटिपे जीविकोपार्जन गर्न मुस्किल हुने उनले बताए । दुई वर्षदेखि कोरोना महामारीका कारण यार्चा टिप्न नपाएपछि अरू जडीबुटी टिपेर खर्चको जोहो गरिरहेको उनको भनाई छ ।
समुद्र सतहदेखि ३ हजारदेखि ३२ सय ७५ मिटर उचाइमा रहेको मुगुगाउँमा अन्न उत्पादन न्यून हुँदा स्थानीयलाई जडीबुटी संकलन गरेर जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ । मुगुगाउँमा कोदो, चिनु र फापर वर्षमा एक बाली मात्र फल्छ । कोरोना महामारीका कारण यार्चा टिप्न प्रतिबन्ध लगाइएपछि जंगल डुलेर कटुकी, भोल्ते, चिराइतोलगायत जडीबुटी खोज्नुपरेको मुगुगाउँका टसी तामाङले बताए ।
जडीबुटी संकलनका लागि हिमाली वनहरू एक महिनाका लागि खुला गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी प्रनित देवकोटाले बताए । उनका अनुसार गत वर्ष कटुकी, अत्तिस, भोल्ते, धूपिपात, सतुवा, वनलसुन श्लगायत जडीबुटीबाट ३५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।


दर्शन खबर । २१ भाद्र २०७८, सोमबार