कालिकोटको खडेरीग्रस्त क्षेत्रमा खाद्य कचहरी

कालीकोट — सुक्खा खडेरीग्रस्त पलाता गाउँपालिकामा पहिलो पटक खाद्य कचहरी सञ्चालन भएको छ ।
खीन, थिर्पू र धौलागोहका समुदायलाई खाद्य उत्पादनमा आत्मनिर्भर बनाउने उपायको खोजी गर्दै दिर्घकालीन कृषि रणनीति निर्माण गर्न डेनिस रेडियोको सहयोगमा खाद्य कचहरीको आयोजना गरिएको हो ।
दार्चुलाको लेकम गाउँपालिका २, कुणीमा पानी भर्दै स्थानीय । यहाँ प्रत्येक तीन दिन बिराएर पानी उपलब्ध हुने गछ्र्र ।
कचहरीमा सरोकारवालाले पलाताबासीले खाद्यान्नको जोहो गर्न खेप्नु परेका कठिनाइ, खाद्य संकटका चुनौती र अवसरबारे खुला छलफल गरे ।
स्थानीयले सिँचाइ कुलो, थोपा सिँचाइ, आधुनिक बीउविजन र उपकरणमार्फत उत्पादन बढाउन सकिने निष्कर्ष निकालेका छन् ।
पलाता २ का वडाध्यक्ष विरी विश्वकर्माको अध्यक्षतामा सुरु भएको कचहरीमा स्थानीयले पहिलो पटक खाद्यान्नको लागि भोगेको सास्तीबारे छलफल समेत गरे ।
स्थानीयबासी लामो समयदेखि खाद्यान्न खरिदका लागि सदरमुकाम मान्म, जिते, घाटपारी चौरलगायत बजार धाउन बाध्य छन् ।
स्थानीयका अनुसार वर्षे्नि खडेरीका कारण खाद्य संकट हुने गरेको छ । सरोकारवालाले खडेरीविरुद्ध लड्न आकाशे पानी संकलन, कर्णाली नदीको पानी लिफ्टमार्फत पम्पिङ, सिँचाइ पोखरी निर्माण र आधुनिक कृषि प्रविधिमा जोड दिएका छन् ।
भौगोलिक विकटता, सिँचाइको अभाव, खानेपानीको अभाव, खेतीयोग्य जमीनको कमी, परम्परागत खेती प्रणाली, उन्नत बीउबिजनको कमी, भिरालो जग्गाजमीन, अधिकांश समुदायको बजार पहुँच नहुनु, बेरोजगारी समस्यालगायत कारण गाउँमा खाद्यान्न समस्या हुने गरेको जनप्रतिनिधिको भनाइ छ ।
सरोकारवालाले सुधारका लागि ७ बुँदे प्रतिबद्धतासहित कार्ययोजना निर्माण गरेको खाद्य कचहरीका सहजकर्ता मनलाल जैसीले बताए ।
खाद्यान्नलगायत समस्याको बढी मारमा पलाताका महिला र बालबालिका परेको स्थानीय साउनी विश्वकर्माले बताइन् ।
’अधिकांश महिला र बालबालिका खान नपाएर चाउरिएका छन्,’ विश्वकर्माले भनिन् ’रात दिन काम गर्दा पनि दुई छाक खानकै समस्या छ ।’ उनले धौलागोहमा खानेपानीको समेत चरम अभाव रहेको सुनाइन् ।
वडा जनप्रतिनिधि, शिक्षक, महिला समूह, किशोरी तथा बालबालिका र समुदायबाट आएका एक सय बढीले छलफलमा सहभागिता जनाएका थिए ।
कचहरीमा खाद्य सुरक्षालाई प्रभावकारी बनाउन समुदायमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने, पानीका मुहान संरक्षण गर्न वृक्षारोपण र सामुदायिक बन घेरबार गरी यसबाट कृषि उत्पादनमा बढी लाभ लिने, खाद्यान्न अभावले गर्दा बालबालिका, किशोरी र महिलाहरूमा परेको असर कम गर्न महिलाहरूलाई आर्यआर्जनमा टेवा पुग्नेगरी फलफूल तथा नगदेवालीमा संलग्न गराउनेलगायत प्रतिबद्धता गरिएका छन् ।

(कान्तीपुर दैनिक बाट)


तपाईको प्रतिक्रिया