गैरआवासीय नेपाली संघ बेलायत चुनाबमा होमियो, सेप्टेम्बर १४ र १५ मा अधिवेशन हुने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आठौं अधिवेशन आगामी सेप्टेम्बर १४ र १५ मा हुने भएको छ ।
वर्तमान कार्य समितिका ५ जना उपाध्यक्षहरु शेर बहादुर सुनार, पुनम गुरुङ, सुशीला राई, प्रेमगाहा मगर र ललित न्यौपानेले अध्यक्ष पदका लागि उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन् ।
महासचिव आर के त्रिपाठीले भने पुनः यूकेको महासचिव वा युरोप संयोजकमा लड्ने आकांक्षा व्यक्त गरेका छन् । त्रिपाठीले सबै साथीहरुसंग सल्लाह गरेर निर्णय र निष्कर्षमा पुगिने बताए । अर्को महत्वपूर्ण मानिएको पद कोषाध्यक्षमा युवा व्यवसायी राजन खकुरेलले उमेद्वारी घोषणा गरेका छन् ।

विभिन्न पदमा धेरै आकांक्षी भएरनै नटिङहममा सोमबार बसेको संघको बैठकले सेप्टेम्बर १४ मा निर्वाचन र १५ मा साधारणसभा गर्ने निर्णय गरेको बुझिएको छ ।
निर्वाचन र सदस्यता वितरण पारदर्शी बनाउन संघका अध्यक्ष योगकुमार फगामी र महासचिव त्रिपाठी सम्मिलित सदस्यता सिकायत कमिटी समेत बनाइएको छ ।
महासचिब त्रिपाठीका अनुसार ३१ जुलाई सम्म सदस्यता लीइ सक्नुपर्ने र सदस्यता शुल्क १० पाउण्ड तोकिएको छ । यस अघि सदस्यता शुल्क ५ पाउण्डमा झारिने हल्ला मात्र भएको र फेरि महँगो सदस्यता शुल्क राखिएको गुनासो धेरैको रहँदै आएको छ । सदस्यता अनलाइन वा पेपर फारामबाट लिन सकिने निर्णय गरिएको छ ।
सदस्यता दर्ता व्यवस्थित गर्न पूर्ण गुरुङलाई सचिवालय सचिव नियुक्त गरिएको छ । ५०० भन्दा बढी सदस्यता बनेका राज्य समन्वय समिति वा काउन्टी समन्वय समितिका लागि बेग्लै निर्वाचन बुथ राख्ने पनि निर्णय भएको त्रिपाठीले बताए ।
साथै स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदको अधिवेशन एवं निर्वाचनका लागि जुलाई २०१९ मा हुने विधान अधिवेशनमा प्रष्ट उल्लेख गरि एनआरएनए यूके र राज्य समन्वय समितिको निर्वाचन एक व्यक्ति एक पदको सिद्धान्त अनुसार एकै दिन गराइने निर्णय भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया