सल्यानमा बिहीबार बिहान मात्रै ३ जना कोरोना संक्रमितको मृत्यु

सल्यान । कोरोना संक्रमणबाट सल्यानमा बिहीबार बिहान ३ जना पुरुषको मृत्युु भएको छ । जसमध्ये दुई जनाको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा र एक जनालाई उपचारको लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा शारदा नगरपालिका–४ साहुटोलाका ६४ वर्षीय, बाग्चौर नगरपालिकाका–४ बाग्चौरका ६० वर्षीया र बाग्चौर नगरपालिका–१ का ५७ वर्षीय पुरुष रहेको जिल्ला अस्पताल सल्यानका क्लिनिकल इन्चार्ज भीमकान्त जैसीले बताए । उनका अनुसार रुघाखोकी र ज्वरोबाट ग्रसित रहेका तीन जनाको जिल्ला अस्पतालमा वैशाख अन्तिममा कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बाग्चौर नगरपालिकाका पुरुष केही दिन अघिदेखि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको, शारदा नगरपालिका–४ साहुटोलाका पुरुषलाई सुर्खेत लगेपनि त्यहाँ भर्ना नगरेर फकाईदिएपछि जिल्ला अस्पताल सल्यानमा ल्याएर भर्ना गरी उपचार गरिरहेको अवस्थामा मृत्यु भएको डा. जैसीले जानकारी दिए । उनका अनुसार उपचारमा केही कठिनाइ आएपछि अर्का बाग्चौर नगरपालिका–१ पुरुषलाई सुर्खेत रिफर गरिएको थियो । उनको बाटैमा मृत्यु भएको हो ।

योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ जना पुगेको स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । जिल्लाभित्र ३० र बाहिर ४ जनाको मृत्यु भएको उनले जानकारी दिए।

 


तपाईको प्रतिक्रिया