जुम्ला । चन्दननाथ नगरपालिकाले कोरोना संक्रमितको घरदैलोमै पुगेर सन्तुलित भोजनसहितको कोसेली दिन सुरु गरेको छ । पोसिलो आहाराको अभावमा संक्रमितको ज्यान जान थालेको भन्दै पालिकाले कोसेली अभियान सुरु गरेको हो ।
कोसेलीको साथमा स्वास्थ्य सामग्रीसमेत वितरण गरिरहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख कान्तिका सेजुवालले आइतबार संक्रमित बसेको घरदैलोमै पुगेर कोसेली अभियानको सुरु गरेकी हुन् । संक्रमितलाई पौष्टिक आहार, स्वास्थ्य सामग्री र भिटामिन वितरण गरिएको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले संक्रमितलाई पौष्टिक कोसेली उपलब्ध गराउने निणर्य गरेपछि संक्रमितको घरदैलोमा पुगेको उनले बताइन् ।
नगरपालिकाका अनुसार संक्रमितलाई दुई केजी चना, एक क्यारेट अण्डा, एक बट्टा चेवनप्रास, १५ दिनका लागि भिटामिन सी र भिटामिन बीसहितको झोला उपलब्ध गराइएको छ । संक्रमितका लागि दुई गोटा साबुन, एक बट्टा सेनिटाइजर र दुई प्याकेट मास्कसमेत दिइएको छ ।
चन्दननाथ नगरपालिकामा आइतबारसम्म ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४३ जना होम आइसोलेनमा छन् । स्वास्थ्यमा जटिल समस्या देखिएका संक्रमितको कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार भइरहेको छ ।


दर्शन खबर । ४ जेष्ठ २०७८, मंगलवार