वीरेन्द्रनगरमा २५ शय्याको कोभिड अस्पताल सञ्चालन

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। कटकुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रबार नगर प्रमुख देवकुमार सुवेदी उदुघाटन गरेका हुन्।

कोरोनाको भाइरसको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिरहेको बेला संक्रमितको सहज उपचारका लागि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो। अस्पतालको २५ शय्यामध्ये १० अक्सिजनसहितको रहेको नगरपालिकाकी उपप्रमुख महोनमाया ढकालले जानकारी दिइन्। अस्पताललाई ५० शय्याको बनाउने लक्ष्य रहेको उनले बताइन्।

त्यस्तै, सिम्ता गाउँपालिकाले ५० शय्याको आइसोलेसन स्थापना गरेको छ। वडा नम्बर ४ स्थित बजेडीचौर स्वास्थ्यचौकीमा अक्सिजनसहितको आइसोलेसन स्थापना गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाभित्रका कोरोना संक्रमितलाई ध्यानमा राखेर सबैलाई पायक पर्ने गरी आइसोलेसन कक्षको निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले बताए।

‘बिरामीलाई लक्षित गरेर केही अक्सिजन सिलिन्डरको व्यवस्था गरेका छौँ,’ अध्यक्ष केसीले भने, ‘विद्युतबाट सञ्चालन हुने अक्सिजन मेसिन समेतको व्यवस्था गरेका छौँ। यदि कसैलाई थप उपचारका लागि बाहिर लानु परे अक्सिजनसहितको एम्बुलेन्स तयारी अवस्थामा राखेका छौँ।’


तपाईको प्रतिक्रिया