
सुर्खेत । सुर्खेतमा दोस्रो चरणको कोरोना सङ्क्रमणको जोखिम बढेपछि जिल्ला कोभिड—१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले मंगलवार गठन गरेको अनुगमन समितिले आफ्नो सक्रियता बढाएको छ । बुधवार दिउँसो केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टसहितको अनुगमन टोलीले स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन थालेको छ ।
वीरेन्द्रनगर बजारका प्रत्येक पसल पुगी विक्रेता तथा ग्राहक, पैदल यात्रु, मोटरसाइकलमा सवारी यात्रुलाई मास्क लगाउन अनुगमन टोलीले निर्देशन दिएको छ । अनुगमनका क्रममा धेरैजसोले मास्क लगाएको पाइए पनि केहीले नलगाएको, पकेटमा राखेको पाइएको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो । उहाँका अनुसार केहीले मास्क प्रयोगमा बेवास्ता गरेको हुँदा अनिवार्यरुपमा मास्क लगाउन निर्देशन दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले केन्द्रको निणर्य अनुसार स्वास्थ्य मापदण्ड पालना गरे नगरेको यसरी नै अनुगमन गरिने बताउनुभयो । उहाँले मास्क अनिवार्य प्रयोग गर्दा कोरोनाको जोखिम कम हुने भएकोले मास्क लगाउन आग्रह गर्दै स्वास्थ्य मापदण्ड पूणर् पालना गर्न सम्पूणर् निकायसँगै आग्रह गर्नुभएको छ ।
यसैगरी टोलीले सुर्खेतस्थित ठूला होटलका स्वीमिङ पुलको पनि अनुगमन गरेको छ । शुभ होटल, ट्रकोमा रिर्सोट र सिद्धार्थ होटलको स्वीमिङ पुल अनुगमन गरिएको छ । ती होटलहरुले सोमवारदेखि नै स्वीमिङ पुलहरु बन्द गरिसकेको जानकारी दिएका छन् ।


दर्शन खबर । ८ बैशाख २०७८, बुधबार