सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) गोपाल रायमाझीको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ का ३० वर्षका साजित अलि ईद्रीसलाई पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हो ।
‘ईद्रीसले विभिन्न स्थानमा हतियार देखाइ डर, त्रास तथा धम्की समेत दिने गरेको भन्ने विषेश सूचनाका आधारमा खोजतलास गरेर उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले जानकारी दिए ।
‘साजित अलि ईद्रीसको खोजतलास गर्ने क्रममा निजलाई नियन्त्रणमा लिई निजको घर/कोठा तथा निजले नै संचालन गरेको आजात रोयल सर्भिस सेन्टरमा खानतलासी गरेका थियौं । सोही आजात रोयल सर्भिस सेन्टरको पछाडिपट्टी रहेको राधाकृष्ण सर्वेश्वर मन्दिरमा जाने भर्याङ मुनि निजले नै राख्ने गरेको मोटर पार्टस सो पार्टस भित्र रातो सपिङ ब्यागमा लुकाई छिपाई राखेको अवस्थामा पेस्तोल भेटिएको हो ।’ डिएसपी घर्तीले भने
उनका अनुसार लम्बाई ८.५ ईन्च, उचाई ४.५ ईन्च ब्यारेलको भाग ४ ईन्च, ब्यारेलको गोलाई ३.३ ईन्च भएको रुट लेखिएको कालो रङको पेस्तोल जस्तो देखिने बस्तु र सानो प्याकेट भित्र ७० थान कार्टिज समेत प्रहरीले फेला पारेको छ । ईद्रिसलाई पक्राउ गरी हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



दर्शन खबर । २४ फाल्गुन २०७७, सोमबार