भैसेदमार सामुदायिक वन हस्तान्त्रण


सुर्खेत ।
जिल्लाको लेकवेशी नगरपालिका वडा नं.–३, मा १५६.१२ हेक्टर क्षेत्रफलमा रहेको भैसेदमार वनलाई सामुदायिक वन बनाइएर हस्तान्त्रण गरिएको छ ।
शुक्रबार भैसेदमारमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय वनको अधिनमा रहेको वनलाई भैसेदमार सामुदायिक वनको नाम दिई वन उपभोक्ता समूहलाई हस्तान्त्रण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा लेकवेशी नगरपालिकाका नगर प्रमुख गगनसिं सुनारले वन हस्तान्त्रणले वनबाट हुने तस्करी रोकिने र यहाँको समूदायहरुले आवश्यक्ता अनुसार विधान बमोजिम सहज रुपले आवश्यक्ता पुरा गर्न सफल हुने बताउदै आफ्नो तर्फबाट वनलाई आवश्यक पर्ने सहयोग पूर्णरुपले गर्ने बताए ।
यस्तै कार्यक्रमका अतिथि सव डिभिजन वन कार्यालय दशरथपुरका कार्यालय प्रमुख घनश्याम चपाईले यहाँका स्थानीयहरुले आफुहरुलाई सामुदायिक वन आवश्यक परेको भन्दै कार्यालयमा निवेदन दिएको र निवेदनको आधारमा स्थलगत अनुगमन गरि सम्पूर्ण प्रकृया मिलाएर वन हस्तान्त्रण गरिएको जानकारी दिए ।
उनले भने, ‘राष्ट्रिय वनको अधिनमा रहेको यो वनलाई सामुदायिक वनको रुपमा हस्तान्त्रण गर्दा मान्छे बचाउ अभियानले सार्थकता पाउने छैन र वनबाट हुने विभिन्न प्रकारका तस्करी रोकिने छ ।’
कार्यक्रमको समापन गर्दै भैसेदमार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गंगबहादुर लुपलुङ्गेले राष्ट्रिय वनबाट सामुदायिक वनमा वन हस्तान्त्रण हुनुमा आफुहरुले ठुलो सफलता हात पारेको बताउदै वन हस्तान्त्रणमा साथ दिनुहुने सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण स्थानीयहरुलाई धन्यबाद दिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, यज्ञ बहादुर रेग्मी, तिलक प्रसाद पाण्डे, मधु आचार्य, विभिन्न सामुदायिक वनका प्रतिनिधहरु लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण भने टार्जन कुमार ओलीले गरेका थिए ।

तपाईको प्रतिक्रिया