
प्रतिमा परियार
नियमित बिपरित सवारी साधन चलाउनेलाई कारवाही गरी कर्णालीमा एक करोड बढी राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा कर्णाली प्रदेशभर १९ हजार सात सय ६४ सवारी साधनलाई कारबाही गर्दा एक करोड ७२ लाख ६४ हजार तीन सय राजस्व उठेको हो ।
सवारी चालक अनुमति–पत्र नबोक्ने, गलत साइडमा सवारी साधन रोक्ने लगायतका नियमहरू उल्लंघन गर्दा चालकहरू कारबाहीमा पर्ने गरेका हुन् । सवारी नियम उल्लंघन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक छन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासियाले चालकहरूको अटेरीपनको कारण कारबाहीमा पर्ने गरेको बताए । चालकहरूलाई सवारी तथा ट्राफिक नियमबारे जानकारी हुने भए पनि प्रहरी छल्न खोज्ने प्रवृत्तिले गर्दा उनीहरू कारबाहीमा पर्ने गरेको प्रहरी निरीक्षक चौरासियाको भनाई छ । सवारी साधनका कागजात नबोक्ने, हेल्मेट नलगाउने, ओभर स्पिड गर्ने, क्षमताभन्दा बढी भार बोक्ने लगायतका कारणले चालकहरू कारबाहीमा पर्ने गरेको भन्दै उनले चालकका यस्ता गतिविधिले सडक दुर्घटनाको जोखिम समेत रहने औल्याए ।
नियम विपरीत चलेका दुई हजार तीन सय ५८ वटा ट्रक कारबाहीमा परेका यस्तै, दुई हजार सात सय ६६ बस पनि कारवाहीमा परे । प्रहरीले गत वर्ष तीन हजार दुई सय ३७ जीप तथा भ्यानलाई सवारी नियम उल्लंघन गरे वापत कारबाही गरेको छ । ती सवारी साधनका चालकलाई ३१ लाख ३६ हजार चार सय रूपैयाँ जरिवाना तिराएको छ । सवारी नियमको बेवास्ता गर्ने यात्रुबाहक सवारी मात्रै छैनन् मालबाहक गाडीहरू पनि उत्तिकै छन । कर्णालीमा एक वर्षको अवधिमा दुई हजार ९२ ट्याक्टरले सवार नियम उल्लंघन गरेका छन । जसको कारबाहीबाट १७ लाख ८४ हजार पाँच सय राजश्व उठेको छ । गएकै वर्ष दुई हजार पाँच सय ९३ टेम्पो पनि प्रहरीको कारबाहीमा परेका छन् । टेम्पो चालकले २१ लाख ९७ हजार जरिवाना बुझाएका छन् ।
गत वर्ष सवारी नियम उल्लंघन गर्ने चालकबाट विभिन्न शीर्षकमा ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ७० लाख ५२ हजार आठ सय रूपैयाँ, सल्यानले ३२ लाख ९१ हजार पाँच सय, दैलेखले १७ लाख ५२ हजार, रुकुम–पश्चिमले १४ लाख १५ हजार पाँच सय, जुम्लाले नौ लाख ४० हजार पाँच सय, कालीकोटले पाँच लाख तीन हजार राजस्व संकलन गरेका हुन् । त्यस्तै, जाजरकोटले १४ लाख ६३ हजार पाँच सय, मुगुले ८७ हजार, डोल्पाले सात लाख ५८ हजार पाँच सय रूपैयाँ जरिवाना वापतको राजस्व उठाएको हो ।
चालु आर्थिक वर्ष २०७७÷०७८ को दुई महिनामा मात्रै सवारी कारबाहीमा प्रदेशभर २० लाख ४४ हजार पाँच सय रूपैयाँ जरिवाना संकलन भएको छ । साउन र भदौ महिनामा उक्त राजस्व संकलन भएको हो । साउनमा १० लाख ६६ हजार पाँच सय र भदौमा नौ लाख ७८ हजार राजस्व जम्मा भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


दर्शन खबर । ९ आश्विन २०७७, शुक्रबार