
हुम्ला, १९ भदौ । आगलागीबाट घर जलेपछि सर्केगार्ड गाउँपालिका–७, रोडिकोटस्थित ठूलागाउँकी ६० वर्षीया दृष्टिविहीन मसिर जैसीको परिवारले आफन्तको घरमा शरण लिइरहेको छ । उनका छिमेकी जोखे जैसी पनि एकसरो लुगासहित आफन्तको गोठमा बसिरहेका छन् ।
हुम्लाको सर्केगार्ड गाउँपालिका–७ रोडिकोटस्थित ठूलागाउँमा भएको आगलागीमा नष्ट भएका घर । तस्बिर ः छपाल लामारकान्तिपुर
गाउँमा बुधबार साँझ भएको आगलागी बिहाबार बिहान मात्र नियन्त्रणमा आउँदा ५ घर पूर्णरुपमा नष्ट भएका छन् भने १५ घरमा क्षति पुगेको छ । ‘न खाने अन्न बच्यो, न लत्ताकपडा नै,’ जैसीले भनिन्, ‘कसैले राहत दिएनन्, आफन्तको घरमा कति दिन शरण लिएर बस्ने ?’ उनको ५ जनाको परिवार छ ।
प्रहरीका अनुसार अभिभावकहरु नजिकैका सामुदायिक वनमा घाँस–दाउरा गर्न गएको बेला बालबालिकाले खाना पकाउने क्रममा आगलागी भएको थियो । ‘वनबाट आउँदा घरमा भएको सबै सामान र नगद जलिसकेको थियो,’ उनले भनिन्, ‘तत्कालका लागि कसैले खाना र अस्थायी बासको व्यवस्था मिलाए पनि पुण्य हुन्थ्यो ।’ आगलागीबाट ११ लाख रुपैयाँको क्षति भएको उनले गुनासो गरिन् ।
आगलागीपीडित जोखे जैसीले सरकारी राहत नपाउँदा आफूहरुको बिचल्ली भएको बताए । उनको ११ जनाको परिवार छ । ‘एक त परिवारको छाक टार्न समस्या थियो,’ उनले भने, ‘आगोले भएको सबै सम्पत्ति नष्ट ग¥यो, अब कसरी परिवार पाल्ने ?’
आफन्तको घरमा बास नपाइएपछि ५५ वर्षीय हरिभक्त जैसीले जलेको घरनजिकै त्रिपाल टाँगेका छन् । ‘पहिलेदेखि नै गरिब थियौं, अब त झन् आगोले उठिबास लगायो,’ उनले भनिन्, ‘राहत लिएर आउँछांै भनेका जनप्रतिनिधि फेरि फर्केर आएनन्, छाक टार्नै समस्या भयो ।’


दर्शन खबर । १९ भाद्र २०७७, शुक्रबार