कर्णालीमा कुष्ठरोगीका बिरामी घट्दो क्रममा


प्रतिमा परियार
कर्णाली प्रदेशमा विगतका वर्षभन्दा कुष्ठरोगका बिरामीको संख्या घट्दो क्रममा रहेको छ । प्रदेशका १० जिल्लाका तथ्यांकअनुसार कुष्ठरोगका नयाँ थपिने बिरामीको संख्या विस्तारै न्यून हुँदै गएको पाइएको छ ।
कर्णालीमा गत आर्थिक वर्ष २०७४/०७५ मा ११५ जना नयाँ कुष्ठरोगी फेला परेका छन्भने २०७५/०७६ मा ८९ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । गतवर्षभन्दा यो वर्षको तुलनामा कम हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जाजरकोटमा नयाँ बिरामी १९, जुम्ला ५, हुम्ला २, डोल्पा २, दैलेख ९,कालिकोट ७, मुगु ५, रुकुम पश्चिम ७, सल्यान ११ र सुर्खेतमा २२ गरेर जम्मा ८९ जना नयाँ कुष्ठरोगीका बिरामीफेला परेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका कुष्ठरोग अधिकृत पदम केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी नयाँ कुष्ठरोगी सुर्खेतमा फेला परेका छन् । सुर्खेतमा गत आर्थिक वर्षमा २६ जना कुष्ठरोगी फेला परेका थिए । रुकुम पश्चिममा १९ जना फेला पर्दा जाजरकोटमा २०, सल्यानमा २५, मुगुमा३, कालीकोटमा ९, दैलेखमा १०, हुम्लामा १, जुम्लामा १ र सुर्खेतमा २० जना नयाँ कुष्ठरोगी फेला परेका छन् । यस्तै, डोल्पामा गतवर्ष कुष्ठरोगीका बिरामी फेला नपरेको केसीले बताउनु भयो ।
कुष्ठरोग सामान्य भइसकेको बताउँदै केसीले कुष्ठरोगबारे जनस्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको बताउनु भयो । कर्णालीमा कुष्ठरोग निराकरण गर्न निर्देशनालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जनाउनु भयो । उहाँका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्यक्टेरियम लेप्रे नामक किटाणुबाट लाग्ने गर्दछ ।
कम सर्ने सरुवा रोगमा पर्ने कुष्ठरोगले छाला र नशामा असर गर्ने स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले बताउनु भयो । उहाँका अनुसार कुष्ठरोगको लक्षण देखिएमा छालामा असर गर्दा रातो वा हल्का फुस्रो रंगको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने, गिर्खाहरु देखा पर्ने र स्नायुमा असर गर्दा हातखुट्टामा छुँदा थाहा नपाउने तथा मांशपेशी कमजोर हुने गर्दछन् ।
‘कुष्ठरोगलाई न्युनिकरण गर्न कुष्ठरोगका बिरामीहरु खुल्नमा डराउनु हुँदैन’जोशीले भन्नुभयो, ‘जनस्तरमा अझै पनि कुष्ठरोग लागेमा लुकाउने संस्कार कायम रहेकाले सचेतनामूलक अभियान पनि चलाउन आवश्यक छ ।’ कुष्ठरोग भएमा कम किटाणु भएकाले ६ महिना र बढी किटाणु भएकाले एक वर्षसम्म औषधी सेवन गरे निराकरण हुने जोशीले उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया